मुग्लिन (चितवन), ३० जेठः गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।
इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । “चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ”, पूर्वअध्यक्ष ढकालले भन्नुभयो ।
गर्मी बढेसगैँ मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आउनुभएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुयभो, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।”
उहाँका अनुसार गत बर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताउनुभयो ।
हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो ।