लस एन्जल्स । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवस मनाइएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द विष्टले बिपीको योगदानको चर्चा गरेका थिए। उनले नेपालको राजनीति बिपी पथमा चल्दा जनताको अभिष्ट छिट्टै पूरा हुने बताएका थिए।
आजभन्दा ५० वर्षअघि बिपीले विश्वभर छरिएर रहेका नेपालीलाई एकता सुत्रमा बाँध्ने उद्देश्यका साथ भारतमा पहिलो पटक जनसम्पर्क समितिको स्थापना गरेको विष्टले स्मरण गरे।
‘बिपीमा मेलमिलापको शिद्धान्त थियो। उहाँको त्यही भावनाले विश्वभरका नेपालीलाई एकतावद्ध गर्न जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको थियो। हाल विश्वका ३८ देशमा कांग्रेसको जनसम्पर्क समिति छ। अमेरिकाका ३७ राज्यमा च्याप्टर छ। र, यसले बिपीको सपना तथा उद्देश्य अनुरुप काम गरिरहेको छ,’ उनले भने।
नेपाललाई र नेपालीलाई कुनै गाह्रोसाह्रो पर्दा विश्वका विभिन्न देशका जनसम्पर्क समितिहरूले सहयोग गर्दै आएको उनले बताए। उनले आपसी एकता र मुलुकको हितका लागि बिपीले देखाएको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत दिएका छन्।
कार्यक्रममा आर्टिसिया सिटी, लस एन्जल्सका मेयर अली सज्जाद, त्रिविका पूर्वउपकुलपति डा. तीर्थराज खनिया, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, एनफा अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेता सुदेश भट्टलगायतको उपस्थिति रहेको थियो।
यस्तै प्रमुख अतिथि विष्टले च्याप्टर सभापति पाठक, नेता नबीन पोखरेल, कार्यक्रम संयोजक राजेश निरौलालगायतले लस एन्जल्समा वर्षेनी यस्ता कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गरे। ‘उहाँहरूले लस एन्जल्समा नेपालीका बीचमा विभिन्न उत्सवका अवसरमा वर्षेनी यस्ता खाले कार्यक्रम गरेर एकता भाव बढाउने काम गरिरहुनु भएको छ। यहाँहरूको सक्रियता र योगदानप्रति उच्च सम्मान गर्दै कृतज्ञता ज्ञापन गर्न चाहन्छु,’ विष्टले भने।