Flash News

९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश जान एनओसी

२४ चैत्र २०७९, शुक्रबार १३:२९

काठमाडौँ। साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन्।

वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका हुन्। प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन्। सरदरमा दैनिक ३०० जना अध्ययनका लागि विदेश जाने गरेको देखिन्छ। बिदेसिने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ।

एकातिर बिदेसिने क्रममा बढिरहेको छ भने अर्कोतिर कलेजहरूले विद्यार्थी नपाउने समस्या देखिएको छ। विद्यार्थीको अभावमा विश्वविद्यालयहरूले कतिपय कार्यक्रम त बन्द गर्नुपरेको अवस्था छ। सञ्चालनमा रहेका कार्यक्रममा पनि विद्यार्थीहरूको चार्म देखिँदैन। यस्तो अवस्थाप्रति कलेज सञ्चालकहरू तथा प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पब्लिक क्याम्पस संघको १२औँ  राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने प्राध्यापकहरू तथा प्रमुखहरूले यसप्रति चिन्ता व्यक्त गरेका हुन्। लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले कलेजहरूले विभिन्न समस्याको सामना गर्नु परिरहेको बताए । स्रोत साधनको अभावमा कलेजहरूले विद्यार्थीलाई आकर्षित गराउन नसकिरहेको उनको भनाइ छ ।

कतिपय कलेजहरू शिक्षक÷कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगेको बताए । ‘कतिपय कलेजहरू भाडामा बसिरहेका छन् । कतिपयको आफ्नै भवन पनि छैनन् । भने कति कलेजको अर्बौँको सम्पत्ति छ । शिक्षक कर्मचारीलाई पेन्सन समेत खुवाइरहेका छन् । यस्तो खालको समस्या हाम्रा कलेजहरूमा देखियो,’ उनले भने ।

विद्यार्थीको अभावमा विश्वविद्यालयहरू भूत बंगला हुने अवस्थामा पुग्न लागेको उनको भनाइ छ ।  ‘कलेजमा इन्रोल हुँदा १७०० विद्यार्थी हुन्छन् । चार वर्षपछि अन्तिममा ३०० जना पनि पास हुँदैनन् । अनि यस्तो अवस्थामा विद्यार्थीहरू किन पढ्छन् ? हाम्रोसामु गम्भीर प्रश्न छ,’ उनले भने।

अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्ने अवस्थामा आएको उनको भनाइ छ । ‘विश्वविद्यालयमा अहिलेकै अवस्था हुने हो भने केही वर्षमा विद्यार्थी खोज्नुपर्ने हुनसक्छ । अब विश्वविद्यालयहरूको प्रारूप नै परिवर्तन गर्नुपर्छ,’ उनले भने ।

शिक्षा क्षेत्रमा झापड हानिएको भन्दै उनले यसलाई समयमै सुधार गर्न सकिएन भने भोलि ठुलो समस्या निम्त्याउने चेतावनी दिए ।  पश्चिम रुकुमको राईझुला क्याम्पसका प्रमुख तेज बहादुर मल्लले क्याम्पसहरूको स्तरबृद्धि लामो समय हुन नसकेको बताए । राज्यले क्याम्पसहरूको विकासका लागि लगानी गर्न नसकेको भन्दै उनले भने, ‘सहरमा भन्दा गाउँघरतिरका क्याम्पसहरू कस्तो अवस्थामा सञ्चालन गर्नुपरेको छ, त्यो राज्यले देख्न सकेको छैन । हामी धेरै कुराहरू जोडजाड गरेर विद्यार्थीहरूलाई पढाउनुपर्ने बाध्यता छ ।’

सामुदायिक र निजी कलेजबीच निकै ठुलो खाडल रहेको भन्दै त्यसको अन्त्यका लागि कलेजहरूमा लगानी बढाउनुपर्ने बताए । कान्तिपुर क्याम्पसको सञ्चालक समितिका अध्यक्ष दीपक कुँईकेलले कलेजहरूले थुप्रै समस्याको सामना गर्दै आइरहेको बताए । २०३७ सालदेखि सामुदायिक क्याम्पस खुल्दै आएको भन्दै अहिले नयाँ नयाँ समस्या थपिरहेको उनको भनाइ छ ।

नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्यले नेपालमा रिसर्चको पाटो निकै कमजोर रहेको बताए । नयाँ नयाँ कुराको रिसर्च गरेर अगाडि बढ्नुपर्नेमा पढेर विदेश जाने प्रचलन बढेको उनको भनाइ छ ।

विश्वमा भइरहेका नयाँ नयाँ रिसर्चहरूलाई पनि नेपालमा ल्याउन सकियो भने यसले नेपालमा विश्वविद्यालयहरूले चलायमान बनाउन सकिने बताए । सामुदायिक क्याम्पस जोगाएर अगाडि बढेको खण्डमा मात्र उच्च शिक्षालाई व्यवस्थित बनाउन सकिने उनीहरूको भनाइ थियो ।

विदेशमा पाइने शिक्षा नेपालमा पनि पाइरहेको तर, विद्यार्थीहरू एक छिन पनि नेपाल बस्न नचाहिरहेको भन्दै उनीहरूले यसमा गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षामन्त्री अशोक कुमार राई राईले विदेश जाने क्रम बढिरहेको भन्दै यसप्रति सरकार गम्भीर रहेको बताए । शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या सबैको सहयोग र सहकार्यमा मात्र समाधान गर्न सकिने भन्दै त्यसका लागि राज्य हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताएका थिए ।

त्रिवि सभा हलमा आजदेखि सुरु भएको १२ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । भोलिसम्म चल्ने महाधिवेशनमा सामुदायिक क्याम्पसले भोग्दै आएका समस्या, तिनको समाधान लगायतका विविध विषयमा समेत छलफल हुनेछ । यो संस्था सेवामुखी भावले समुदायबाट जनस्तरमा सञ्चालन भएका सामुदायिक क्याम्पसहरूको साझा संस्था हो ।

प्रतिक्रिया दिनुहोस्