अदालत/प्रशासन

सर्वोच्चमा आइतबारदेखि नियमित र बन्दीप्रत्यक्षीकरणको सुनुवाइ सुरु हुने

२६ भाद्र २०८२, बिहीबार १७:३२

काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ ।

बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुप्रति हार्दिक धन्यवाद प्रकट गरेका छन् ।

उनले भनेका छन्- ‘सर्वोच्च अदालतलगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं । नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ ।’

उनले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब-करिब नष्ट हुन गएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्