सुदुरपश्चिम प्रदेश

बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने

२ कार्तिक २०८२, शनिबार ०८:३९

बाजुरा ।  बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ ।

४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झण्डै एक सय बढी अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको हो ।

पालिकाले संघीय सरकार र प्रदेश सरकारको ऐन अनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेन–जी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताए ।

प्रदेशको ऐनलाई ग्रहण गरेर आफुहरुले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउन बाध्य भएको नगर प्रमुख बाँनियाको भनाइ छ। हालको अन्तिरिम सरकारले पनि कुनै कर्मचारी भर्ना नगर्न समेत परिपत्र गरेको र प्रदेशको ऐन कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रदेशले ल्याएको ऐनमा त्रुटी भएकाले यसलाई सच्याउन समेत उनले आग्रह गरेका छन् । अबबाट लोकसेवालाई कर्मचारी माग्ने गरी नगर सरकार अघि बढ्ने बताएका हुन्।नगरपालिकामा विशेषगरी स्वास्थ्य संस्थामा रहेका कर्मचारी बढी हटेका छन् ।

पालिकाका १० वटै वडाका  कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्