तिहारको बेलामा भन्दा धेरै विद्युत खपत त अरु बेला नै हुन्छ । तिहारमा डोमेस्टिक लोड अलिकति बढ्ने हो । तिहार बिदामा उद्योगहरू प्राय बन्द हुने भएकाले माग चाहिँ तिहारमा त्यस्तो धेरै हुँदैन । त्यसले गर्दाखेरि हामीलाई व्यवस्थापन गर्न गाह्रो छैन । जतिसक्दो बढी विद्युत खपत गर्दा हुन्छ ।
राजन ढकालः प्रवक्ता नेपाल विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्युत व्यवस्थापनमा कुनै समस्या नहुने बताए ।
उनले भने,‘ तिहारको बेलामा भन्दा धेरै विद्युत खपत त अरु बेला नै हुन्छ । तिहारमा डोमेस्टिक लोड अलिकति बढ्ने चाहिँ हो, तर उद्योगहरू प्राय बन्द हुन्छन् । किनभने कामदारहरूलाई पनि छुट्टी हुने हुदाँखेरि विद्युतको समग्र माग चाहिँ तिहारमा त्यस्तो धेरै हुँदैन । त्यसले गर्दाखेरि हामीलाई व्यवस्थापन गर्न गाह्रो छैन ।’
उनले आम जनतालाई ढुक्क भएर सक्दो विद्युत खपत गर्न आग्रह समेत गरे । सानो तिनो प्राविधिक समस्याबाहेक अन्य विद्युत आपूर्तिमा कुनै किसिमका समस्या नआउने उनको भनाई छ ।
‘जति सक्दो बढी खपत गरे हुन्छ । देशभरी अन्धकार हुँदैन । अब कहीँ–कहीँ प्राविधिक समस्या सानोतिनो आउने भन्ने त भैहाल्छ । तर त्यस्तो देशभरी अन्धकार हुने भन्ने त्यस्तो हुँदैन,’ उनले भने ।
प्रवक्ता ढकालले विद्युत आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा विषयमा प्राधिकरण लागिपरेको बताए । आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर नियमित विद्युत आपुर्ति कसरी गर्ने भन्ने विषयमा नै प्राधिकरणको फोकस रहेको उनले जानकारी दिए ।
उनले भने,‘विद्युत प्राधिकरणको पुरै फोकस भनेको यो विद्युत आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा नै छ । विशेष गरेर अब आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर, यो बेलामा सबै जना आ–आफ्नो घरमा बिदा मनाउन जाने पनि हुँदाखेरि नियमित विद्युत आपुर्ति कसरी हुन्छ भन्ने फोकसमा छौं हामी । देशैभरिका सबै वितरण केन्द्रहरूलाई सजग रूपमा राख्ने र यो बेलामा चाहिँ अविच्छिन्न रूपमा गएर आफ्नो ड्युटी गर्ने हिसाबले हामी तयारी गरिरहेका छौं । विद्युत प्राधिकरणले आफ्नो नियमित आयोजनाहरू त बढाईराखेकै छ । प्रसारण लाइन तिर आयोजनाहरू छन्, वितरण तिर आयोजनाहरू छन् । उत्पादन तिर भएका आयोजनाहरू पनि चलिरहेकै छन्, हामीले गरिराखेका छौं ।’
त्यस्तै उनले तिहारको बेला सुरक्षित रुपमा विद्युतको प्रयोग गर्नका लागि सुझाव दिएका छन् ।
उनले सुझाव दिँदै भने,‘विद्युत प्रयोग गर्दाखेरि सुरक्षित भएर चाहिँ गर्नुपर्यो । अब विद्युतीय दुर्घटनाहरू भइराखेका छन् । कतिपय हाम्रै असहज अध्ययनले गर्दाखेरि विद्युतीय दुर्घटनाहरू भइराखेका छन् । अब विद्युत हामीलाई नभई नहुने चिज पनि हो,तर सही तरिकाले प्रयोग गर्न सकेनौं भने त्यसबाट खतरा पनि हुन्छ । अब त्यो खालको सचेतता त गर्न जरुरी छ । बाहिर चाहिँ जथाभावी पोलहरू छुइदिनु भएन, कहीं चाहिँ संरचनाहरू भत्किएको देखिएमा,बिग्रिएको देखामा तुरुन्तै विद्युत प्राधिकरणको शाखामा खबर पनि गर्दिनुपर्यो । आफ्नो घरको वायरिङहरू ठीक गर्ने, अर्थिङ ठीक गर्ने, आफ्ना बालबालिकाहरूलाई पनि सचेत गराउनुपर्छ । खासगरी त विद्युतीय दुर्घटना नहोस् भन्ने नै हो ।’