अन्य

नेपालमा पुरुष मेकअप आर्टिस्टको उदय र चुनौती

१४ पुष २०८२, सोमबार ०८:१५

काठमाडौं । नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भए पनि पुरुषका लागि पनि यो क्षेत्र उज्वल देखिन थालेको छ । यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर टेकराज पाण्डेको विश्वास छ ।

नेपाल न्यूज बैंकको विशेष कुराकानीमा राज ब्युटी एकेडेमी एण्ड ब्युटी स्टुडियोका प्रोफेसनल मेकअप आर्टिस्ट तथा मेकअप ट्रेनर पाण्डेले नेपालमा पुरुष मेकअप आर्टिस्टका अनुभव, चुनौती र सम्भावनाबारे खुलेर कुरा गरेका छन् ।

उनले सन् २०१९ देखि औपचारिक रूपमा मेकअप क्षेत्रमा काम सुरु गरेका हुन् । सुरुवाती चरणमा पुरुष पार्लर तथा मेकअप स्टुडियो सञ्चालन गर्दा समाजले फरक दृष्टिले हेर्ने गरेपनि अहिले समयसँगै सोचमा परिवर्तन आएको उनको भनाइ छ ।

पाण्डेका अनुसार सुरुमा पुरुषले मेकअप गर्ने विषयमा आलोचना र जिज्ञासा दुवै थियो । गाउँ–समाजमा अझै पनि केही हदसम्म फरक सोच रहेपनि अहिले शहरदेखि गाउँसम्म मेकअप पेशालाई क्रमश : स्वीकार गर्न थालिएको छ । नेपालमा यसअघि पनि फिल्म क्षेत्रमा पुरुष मेकअप आर्टिस्ट सक्रिय रहेकाले अहिले यो पेशा नयाँ नभए पनि प्रशिक्षण र व्यवसायिक स्तरमा विस्तार भने पछिल्लो आठदश वर्षमा तीव्र रूपमा भएको उनी बताउँछन् ।

कतारमा रहँदा फिल्मसँग जोडिन पुगेपछि मेकअपप्रति रुचि बढेको बताउँदै पाण्डेले दिल्लीमा व्यवसायिक मेकअप तालिम लिएर नेपाल फर्किएको अनुभव सुनाए ।

मेकअप केवल सौन्दर्यसँग मात्र नभई कला र व्यवसाय दुवै भएको भन्दै यसले आत्मनिर्भर बन्न र पहिचान बनाउन सहयोग गर्ने उनको धारणा छ । सुरुका वर्षहरू संघर्षपूर्ण रहेपनि निरन्तर अभ्यास र लगनशीलताले अहिले यो क्षेत्रबाट राम्रो सम्भावना देखिन थालेको उनले बताए ।

मेकअप गर्दा सबैभन्दा महत्वपूर्ण पक्ष स्किन एनालाइसिस भएको पाण्डे बताउँछन् । स्किन टोन, स्किन टाइप, दाग–धब्बा, रिंकल, ड्रेस, हेयर स्टाइल र इभेन्टअनुसार मेकअप फरक–फरक हुने उनको भनाइ छ ।

ब्राइडल, फोटोसुट, म्यूजिक भिडियो तथा टेलिभिजन मेकअपका लागि फरक प्रविधि र अनुभव आवश्यक हुने बताउँदै क्यामेरा र लाइटसँग मेल खाने मेकअप आजको समयमा अनिवार्य बन्दै गएको उनले प्रष्ट पारे ।

मेकअप तालिमको भूमिकाबारे बोल्दै पाण्डेले अभ्यास र व्यवहारिक सिकाइ अत्यन्त महत्वपूर्ण हुने बताए । उनको एकेडेमीबाट तालिम लिएका करिब ९५ प्रतिशत विद्यार्थीहरू अहिले सक्रिय रूपमा काम गरिरहेको दाबी गरे ।

विशेषगरी विदेश जाने उद्देश्यले तालिम लिनेहरू नयाँ ट्रेन्डमा छिटो अपडेट हुने र अवसर पनि चाँडै पाउने गरेको उनको अनुभव छ । नेपालमा मेकअप तालिम लिनेहरूमा महिलाको संख्या बढी भएपनि पुरुषका लागि पनि यो क्षेत्र भविष्यमा अझै फराकिलो हुने पाण्डेको विश्वास छ।

पार्लर तथा मेकअप क्षेत्रमा आर्थिक लगानी, सामग्रीको गुणस्तर र बढ्दो प्रतिस्पर्धा चुनौती भए पनि यो कला, पेशा र सेवाको संयोजन भएकाले यसको मूल्य बुझ्न आवश्यक रहेको उनले जोड दिए ।

मेकअपमा प्रयोग हुने ब्रान्डेड सामग्री, तालिम र अनुभवको लागतका कारण सेवाको मूल्य निर्धारण हुने उनको भनाइ छ । पाण्डेले भविष्यमा नेपालमा पुरुष मेकअप आर्टिस्टको भूमिका थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

लगनशीलता, निरन्तर अभ्यास र पेशागत इमान्दारिताका साथ अघि बढेमा मेकअप क्षेत्र सदाबहार पेशा बन्न सक्ने उनको धारणा छ । महिला, पुरुषको विभाजन नगरी यसलाई एक व्यवसायिक कला रूपमा स्वीकार गर्न सके यो क्षेत्रबाट आत्मनिर्भर जीवन निर्माण गर्न सकिने उनले बताए ।

सन्तोषी रावल/नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्