खेलकुद

विराटनगर किंग्समाथि काठमाडौँको ९ विकेटको शानदार जित

२० कार्तिक २०८३, बिहीबार २०:०६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

विराटनगर किंग्सले दिएको ८४ रनको लक्ष्य पछाएको काठमाडौँले ९.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

काठमाडौँको जितमा डेभिड वार्नरले अविजित २४ बलमा ४४ रन बनाए भने विलियम बोसिस्टोले अविजित २३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले १८.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाएको थियो । विराटनगरका लागि रुपेश सिंहले सर्बाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाएका थिए । त्यस्तै, काठमाडौँ गोर्खाजका बलर सन्तोष यादवले ३ विकेट लिए भने करण केसी र सहान आराचचिगेले २-२ तथा जहानदाद खान र देव शाहले एक एक विकेट लिएका थिए ।

यो काठमाडौँको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंकसँगै काठमाडौँ दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै विराटनगरलाई भने यो हारपछि धक्का लागेको छ । विराटनगरको ५ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्