खेलकुद

फ्रेण्ड्समाथि आर्मीको जित

८ जेष्ठ २०८०, सोमबार १५:३५

काठमाडौं। राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३–० को जित हात पारेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले हराउँदै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ । हारपछि फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

सोमवार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् । यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ । फ्रेण्ड्स क्लब पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्