कला/मनोरञ्जन

टिका पुन ‘एकल साँझ’ भव्यताका साथ सम्पन्न

२२ माघ २०७९, आईतवार ०६:०८

काठमाडौँ। लोकगायिका टीका पुनको ‘एकल सांगीतिक साँझ’ सम्पन्न भएको छ ।

राजधानिको प्रज्ञा भवनमा शनिबार सम्पन्न भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै लोकदोहोरी गायन क्षेत्रका वरिष्ठदेखि नव कलाकारहरूको उपस्थिति रहेको थियो।

गायिका पुनले आफ्नो सांगीतिक करिअरको २३ वर्ष पूरा गरेको अवसरमा एकल साँझको आयोजना गरेकी हुन्। कार्यक्रममा दर्शकहरूको भव्य उपस्थिति थियो।

वरिष्ठ गायक सर्जक नारायण रायमाझी, प्रेमराजा महत, राजु परियार, विवि अनुरागी, रामजी खाँड, करिश्मा घर्ती, धनराज चुनारा, स्मृति शाही, खग्रेन्द बिकलगायतले गायिका पुनलाई साथ दिएका थिए। गायिका पुनले सुर्खेतबाट तीन महिनाको छोरी बोकेर सांगीतिक भविष्यका निम्ति २३ वर्ष पहिले काठमाडौँ आएको स्मरण गरिन्।

प्रज्ञाको मेघा हलको बालकोनीसम्म दर्शकहरूको भरिभराउ थियो। गायिका पुनले ‘आमा’ बोलको गीतलाई पहिलो प्रस्तुतिका रूपमा प्रस्तुति दिएकी थिइन। त्यस क्रममा गायिका पुन केही भावुक बनिन्। तर, पहिला प्रस्तुती भने जोडदार रूपमा राखेकी थिइन।

बहुचर्चित गीत ‘लालुपाते’ मा गायक मिलन लामाले साथ दिएका थिए। ‘कति राम्रो दमाईको छोरो’ मा राजु परियार र ‘क्षितिजपारी उनको बस्तिमा’ बोलको गीतमा रामजी खाँडले टिकालाई साथ दिएका थिए। दर्पण संगीतालयको आयोजनामा सम्पन्न कार्यक्रममा सत्यवति कलाकार केन्द्रका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्