काठमाडौँ। विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ।
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए।
२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो। उसका लागि क्रेग एर्विन र सेन विलियम्स दुवैले शतकीय पारी खेले। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो।
जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके। जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे। कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए।
गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन्। करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहे।