Flash News

काँक्रेविहार, रारा र रामारोशन (तस्बिरसहित)

२४ माघ २०७९, मंगलवार ११:२०

काँक्रेविहार

कर्णाली प्रदेशको सुर्खेत जिल्ला लाटीकोईलीमा पर्ने जिल्लाको मात्रै नभएर देशकै ऐतिहाँसिक पुरातात्विक महत्वको विषय हो काँक्रेविहार। यसको बारेमा व्यापक प्रचार प्रसार हुन नसकेको स्थानीय बताउछन्।

सुर्खेत उपत्यका वीरेन्द्रनगर नगरपालिकाको सबैभन्दा उचाईमा अवस्थित कांक्रेबिहार जङ्गलभित्र सबैभन्दा उचाई अवस्थामा रहेको बौद्ध भग्नावशेष बिहार उत्खनन्को समयमा लगभग ४०० फिटको परिधिमा फैलिएको २० फिट जति अग्लो थियो। यस काँक्रेविहार परिसरमा एउटा नलंकर नामको बिहार थियो भनिन्छ।

रारा ताल

 

राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ। जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ। राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिँदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन्। यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

प्राकृतिक सौन्दर्यता: दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ। जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने असला जातको माछा पाइन्छ।

जलवायु: ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्चसम्म तापमान पनि जम्ने प्वाइन्ट भन्दा तल झर्छ। हिउँदमा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ । बर्खा याम मा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ सामान्यतया तालको सतहको तापमान ७।५ देखि ७।६ डिग्री सेल्सियस सम्म हुने गरेको छ।

अछामको रामारोशन

रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन्।

प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।जसको आकार अंग्रेजी अक्षर ‘सि’ जस्तो छ। जुन बाटुले ताल भन्दा अली माथी छ। यहाको सानो तालमा ताउने ताल हो।यो हाल पुरिने अवस्थामा छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन।जून अठार खण्ड का नामले प्रख्यात छन्।

यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठूलो चउर हो। जसको बीच भएर कैलाश खोला बग्दछ। यो सम्भवत अछामकै ठूलो चउर हो। यसको केहि माथी पट्टी रोशन चउर छ। यो पनि धेरै नै ठूलो छ।

प्रतिक्रिया दिनुहोस्