काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामहरी खतिवडालाई सार्बजनिक सुनुवाई समितिको सभापति बनाउन लागिएको प्रति प्रश्न उठाएको छ । रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्ड पालन गर्नुपर्ने भन्दै खतिवडालाई फेरी सभापति बनाउन खोजिएको प्रति प्रश्न उठाएका हुन् । उनले जनताको सार्वभौम कानुन निर्माण गर्ने जस्तो संवेदनशील विषयमा गरिकनुनी रुपमा प्रत्यक्ष संलग्न भएर नैतिक संकटमा परि राजीनामा दिएको व्यक्तिलाई अहिले पुन: संसदीय सुनुवाई समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले नैतिक आचरणमा प्रश्न खडा गरेको उल्लेख अग्रेका छन् । साथै उनले विवादस्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभएर सम्पूर्ण लोकतान्त्रिक मुल्य र मानयतामा आघात पुर्याएको अवस्था रहेको सभामुखलाई ध्यानाकर्षण गराएका छन् । यसै सन्दर्भमा रास्वपाले खतिवडाको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न समेत माग गरेका छन् ।
२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् । उनले जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता समेत औँल्याएका छन् । माओवादी केन्द्रको वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे । प्रचण्डले भने- ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ ।’ प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भने- ‘हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं ।’
३- एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको पहिलो दिनको दोस्रो खेलमा ललितपुर क्विन्स विजयी भएको छ । दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३ खेलको सोझो सेटमा पराजित गरेको हो । ललितपुरले मधेशलाई २५-१७, २५-१३ र २५-१९ को सेटमा पराजित गरेको हो । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली यशविसले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । अब दोस्रो दिन शनिबार लिगका तीन खेल हुदैछन् । जसमा पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच दिउसो १ बजेदेखि हुने छ भने दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभासबीच दिउसो ३ बजे हुने छ । त्यस्तै तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच ५ बजेदेखि हुने छ ।
४- अमेरिकाले भारतमाथि कर लगाएपछि दुई देशबीच तनाव देखिएको छ । यस समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार भारतलाई निशाना बनाइरहेका थिए । तर हालै चीनमा सम्पन्न एससीओ सम्मेलनपछि ट्रम्पको मनोवृत्ति नरम हुँदै गएको देखिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिदै भारत र रुसलाई चीनसँग गुमाइसकेको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा एउटा तस्वीर पनि सेयर गरेका छन् । यस तस्वीरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ देखिएका छन् । यस पोस्टमा डोनाल्ड ट्रम्पले लेखेका छन्- यस्तो देखिन्छ, हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं । भगवानले उनीहरूलाई लामो र समृद्ध भविष्य प्रदान गरून् ।’
५- राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत समेत हुने उल्लेख गरेका छन् । आयोगले नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न आयोगले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
६- इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको घोषणा गरेको छ । यसले अब यसमा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको छ । बीबीसीका अनुसार, इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भागमाथि नियन्त्रण जमाएको र अब हामी हमासको पूर्वाधार ध्वस्त पार्न ठूलो र शक्तिशाली कारबाही सुरु गर्ने बताएको हो । इजरायली सेनाले भनेको छ- ‘हामी आगामी दिनहरूमा गाजा शहर भित्र र वरपर भइरहेको कारबाहीलाई अझ तीव्र बनाउने तयारी गरिरहेका छौं । हामी हमासलाई जताततै पछ्याउन जारी राख्नेछौं र बाँकी इजरायली बन्धकहरूलाई फिर्ता नगरेसम्म यो अभियान समाप्त हुने छैन ।’ हालैका दिनहरूमा, इजरायलले गाजा शहर वरिपरि आफ्नो आक्रमण तीव्र पारेको छ । यसअघि, हमासले सबै बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको थियो, तर इजरायलले यसलाई अस्वीकार गरेको बताएको थियो ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यो हमासद्वारा फैलाइएको गलत कथा हो, जसमा केही नयाँ कुरा नभएको बताएको छ ।
७- ४१ वर्षीय न्युजिल्याण्डका पूर्व कप्तान रस टेलरले ओमानमा हुने आगामी एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोटमा सामोआको प्रतिनिधित्व गर्ने भएका छन् । सामोआलाई २०२६ टी-२० विश्वकपको छनोटमा सहयोग गर्न टेलरले आफ्नो सन्यास तोड्दै सामोआबाट खेल्ने भएका हुन् । उनले भनेका छन्- केही महिनादेखि तयारी भइरहेको छ, तर स्पष्ट रूपमा आज टोलीको घोषणा भएको छ, त्यसैले, मेरी आमाको जन्म भएको देशको प्रतिनिधित्व गर्न पाउँदा रोमाञ्चक छु । म सधैं पोलिनेसियन समुदायलाई कुनै न कुनै तरिकाले फिर्ता दिन चाहन्थें । मैले सधैं सोचेको थिएँ, यो कोचिङ र अन्य माध्यमहरूमा बढी हुनेछ, मैले कहिल्यै सोचेको थिइनँ कि म सामोआको लागि खेल्नेछु । तर अवसर आएपछि, खेलाडीको रुपमा प्रतिनिधित्व गर्न र सामोआको लागि मेरो उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु ।’ नोभेम्बर २०२० मा अन्तिम पटक यस टी-२० खेलेका टेलर न्यूजील्याण्डको पाँचौं सबैभन्दा धेरै टी-२० रन बनाउने खेलाडी हुन् ।
८- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गर्न माग गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सरकारको यो कदम संविधानविरोधी भएको टिप्पणी गर्दै यो निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । प्रचण्डले प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या गरेको समेत आरोप लगाएका छन् । उनले सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको उल्लेख गर्दै माओवादी केन्द्र सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग रहेको बताएका छन् ।
९- पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको हालै शल्यक्रिया गरिएको छ । छालाको क्यान्सरबाट पीडित बाइडेनले मोहस सर्जरी (छालाको क्यान्सरसँग सम्बन्धित शल्यक्रिया) गराएको उनका प्रवक्ताले जानकरी दिएको बिबिसीले उल्लेख गरेको छ । यस प्रक्रियामा, क्यान्सरको कुनै निशान नभेटिँदासम्म छालाको तहहरू हटाइन्छ । हालै, ८२ वर्षीय बाइडेनको टाउकोको दाहिने छेउमा घाउ देखिएको थियो । सन् २०२३ मा बाइडेनको स्वास्थ्य जाँचको क्रममा, उनको छातीबाट क्यान्सर भएको छाला हटाइएको थियो । मे महिनामा, उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, जुन उनको हड्डीमा फैलिएको थियो ।
१०- रुसले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न विदेशी सेना तैनाथ गर्ने कुनै पनि अवस्था स्वीकार नगरिने बताएको छ । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले विज्ञप्ति जारी गर्दै रुसले आफ्नो सिमाना नजिकै युक्रेनी भूमिमा विदेशी सशस्त्र सेना, नेटो सेनाको उपस्थितिलाई खतराको रूपमाहरेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘युक्रेनमा जाने बाटो खोज्ने नेटोको प्रयासले हाम्रो देशलाई खतरामा पार्छ । त्यसैले हामी हाम्रो सिमाना नजिकै युक्रेनी भूमिमा विदेशी सशस्त्र सेना, नेटो सेनाको उपस्थितिलाई खतराको रूपमा हेर्छौं । यो हाम्रो लागि खतरा हो, किनभने नेटोले रुसलाई आफ्नो शत्रुको रूपमा हेर्छ, र यो यसको कागजातहरूमा प्रतिबिम्बित छ। हामी यो हुन दिन सक्दैनौं। र हामी हाम्रो सुरक्षा सुनिश्चित गर्न गर्नुपर्ने सबै कुरा गर्नेछौं ।’ यो वक्तव्य फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले २६ पश्चिमी देशहरूले युद्धविरामको भोलिपल्ट जमिन, समुद्र वा हवाई मार्गबाट सेना पठाउन सक्ने औपचारिक रूपमा वाचा गरेको बेला आएको हो ।
११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/ १३ हजार घुस लिएको अवस्थामा पक्राउ परेका कार्यालय सहयोगी कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दाएर गरेको जनाएको छ ।
१२- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए । प्रधानमन्त्री ओलीले भने- ‘यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
१३- नेकपा एमाले को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । विधान महाधिवेशनको उद्घाटनपछि अध्यक्ष ओलीले सम्बोधन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति बारे विस्तृत रुपमा आफ्नो कुरा राखेका छन् । यस विधान महाधिवेशनमा ७ वटा दस्तावेज प्रस्तुत हुने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्दैछन् । त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कर्ण बहादुर थापाले केन्द्रीय कार्यालयमा दर्ता गरेको असहमतिको दस्तावेज पनि विधान महाधिवेशनमा छलफलका लागि पेश हुने भएको छ । विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल हुने र अन्तिम दिन आइतबार दस्ताबेज पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरेर समसामयिक प्रस्तावहरुसहित महाधिवेशन सकिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।
१४- एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिएका छन् । मन्त्रालयले दर्ता प्रक्रियाबारे जानकारी पठाएको र आवश्यक कागजपत्र प्राप्त भए लगत्तै सूचीकरण गर्ने ठाकुरले बताए । यसअघि विहिबार फेसबुकको मूल कम्पनि मेटाको सिंगापुरस्थित कार्यालयले मन्त्रालयमा अनौपचारिक रुपमा सम्पर्क गरेर दर्ता प्रक्रिया बारे सोधेको थियो । तर मेटाले अहिलेसम्म दर्ता गर्ने बारे औपचारिक रुपमा भने प्रक्रिया अगाडी बढाएको छैन । सरकारले दर्ता प्रक्रियामा नआएका फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएसँगै हाल नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय रहेका छन् । यद्यपी यस सूचीमा रहेको हाम्रो पात्रोले दर्ताका लागि विहिबार नै प्रक्रिया शुरु गरेकोले आइतबारसम्म निर्णय गरेर हाम्रो पात्रलाई सूचीकरण गर्ने प्रवक्ता ठाकुरले जानकारी दिएका छन् ।
१५- नेकपा एमालेका स्थायी कमीटी सदस्य कर्ण बहादुर थापाले आजदेखि शुरु हुने दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने भएका छन् । थापाले प्रस्तुत गर्ने फरक मतलाई विहिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । उनले आफ्नो फरक मतमा पार्टीमा विधमान प्रमुख समस्याको बारेमा विस्तृत रुपमा आफ्नो धारणा राखेका छन् । उनले पार्टीमा गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथालेको उल्लेख गर्दै सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यास पार्टीमा हावी भएको आरोप लगाएका छन् । उनले पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोडेको आरोप लगाउदै पार्टीका कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण नभएको र सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको बताएका छन् ।
१६- झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति युनिट १०० को मूल्यमा ४ लाख ७३ हजार ३३६ इकाई शेयर निष्कासन गरेको हो । आईपीओ छिटोमा भदौ २४ र ढिलोमा आश्विन ३ गतेसम्मको खुला रहने छ । २८ करोड एक लाख ९० हजार जारी पूँजी रहेको कम्पनिले त्यसको २५ प्रतिशतले हुन आउने ९ लाख ५० हजार ४७५ इकाई शेयर सर्वसाधारणलाई जारी गर्न स्वीकृति पाएकोमा १० प्रतिशत अर्थात ३ लाख ८० हजार १९० इकाई शेयर परियोजना प्रभावित स्थानीयहरूलाई छुट्याइएको थियो । १५ प्रतिशत अर्थात् ५ लाख ७० हजार २८५ इकाई शेयर मध्येको १० प्रतिशत अर्थात ५७ हजार २९ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई यसअघि नै बाँडफाँड गरिसकिएको छ । त्यसपछि २ प्रतिशत अर्थात ११ हजार ४०६ इकाई, कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ, र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २८ हजार ५१४ इकाई, म्युचुअल फन्डहरूको लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ४ लाख ७३ हजार ३३६ इकाईहरू सर्वसाधारणका लागि आवेदन खोलिएको निष्कासन प्रबन्धक रहेको हिमालयन क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २४८० मा कारोबार भएको थियो ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको बताएको छ । रास्वपाकी केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको उल्लेख गरेर एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको बताएकी छन् । रास्वपाले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड भएको भन्दै यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकुचित गर्ने गरी नेपाल सरकारले लिएको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
१९- पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईमाथि ३१ रनको जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल ३१ रनले हारेको हो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो । यो जितपछि पाकिस्तानले सिरिजको ४ खेलमा ३ जितसहित फाइनलमा पुगेको छ । त्यस्तै युएईले भने सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ र फाइनलमा पुग्न असफल भएको छ । अब फाइनल अघि युएईले अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै फाइनल खेल भने पाकिस्तान र अफगानिस्तान आइतबार खेल्ने छन् ।
२०- दक्षिण अमेरिकी क्षेत्रबाट फिफा विश्वकपमा छनौट हुने ६ देशको टुंगो लागेको छ । शुक्रबार सम्पन्न छनौट खेलपछि उरुग्वे, इक्वेडर, कोलोम्बिया र पराग्वे विश्वकपमा सिधै छनौट भएका हुन् । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना र ब्राजिल यस अघि नै विश्वकपमा छनौट भएका थिए । अब दक्षिण अमेरिकी क्षेत्रका विश्वकप छनौटका अन्तिम खेलपछि इन्टर कन्टिनेन्टल छनौट खेल्ने एक देशको टुंगो लाग्ने छ । यस दौडमा भेनेजुएला र बोलिभिया रहेका छन् । त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट चिली र पेरु भने विश्वकपमा छनौट हुन असफल भएका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् । २०२६ मा हुने फिफा विश्वकपमा अहिलेसम्म आयोजक तीन देशसहित १६ देश छनौट भएका छन् । जसमा आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित जापान, न्यूजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अस्ट्रेलिया, ब्राजिल, इक्वेडर, उरुग्वे, कोलोम्बिया र पराग्वे रहेका छन् ।