Flash News

बिना लाइसेन्स स्कुटर चलाउँदा आमाको ज्यान गयो, छोरी जेल चलान

२५ माघ २०७९, बुधबार ०२:०७

पोखरा। सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ केही अघि भाइरल थियो । भिडिओमा एक ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउँदा काठमाडौँको सतुंगलमा भएको दुर्घटनाका बारेमा बताएका छन् । उनले भनेका छन्( विदेश भएको लोग्नेले घरमा ३६÷३७ वर्षकी श्रीमतीका लागि भनेर स्कुटर किनिदियो । छोरी ११ र छोरा ९ मा पढ्ने, आफू कलेज पनि जाने भाइलाई स्कुल जान ढिला भएकाले छोडिदिने भन्दै छोरी स्कुटर लिएर घरबाट निस्किइन् । जाँदै गर्दा स्कुटर चिप्लिएर नालामा प¥यो भाइको मृत्यु भइहाल्यो ।’

भिडिओमा ती प्रहरीले बताए अनुसार त्यो घटनामा भाइको मृत्यु भएपछि प्रतिवादी दिदी भइन् । प्रहरी भन्छन्, ‘भाइको मृत्यु भएपछि दिदी जेल जाने भई । अनुसन्धान हुँदै जाँदा चालक दिदीको लाइसेन्स नभएको भेटियो । लाइसेन्स नभएकालाई सवारी कसले दियो भन्दा—आमाले दिइन्, सवारी धनी आमा छिन् । लाइसेन्स नभएकालाई सवारी किन दियो भनेर आमालाई २ वर्ष जेल भयो । मुख्य प्रतिवादी छोरी भई, सहायक प्रतिवादी आमा भइन्, लोग्ने छैन । लाइसेन्स नभएको खण्डमा कति अप्ठेरो पर्ने रहेछ।’

शिक्षाप्रद उक्त भिडिओको विवरण र त्यसका परिणामसँग मेल खाने घटना तनहुँमा भएको छ । माघ ८ गते तनहुँबाट शुक्ल गण्डकी नगरपालिका २ हलेदीमा ग ९ प ५६४९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बा २ क ६२१९ नम्बरको टिपरले ठक्कर दियो । दुर्घटनामा परी पोखरा महानगरपालिका वडा नम्बर ३३ की वडा सदस्य लीलादेवी नेपाली र आमा घाइते भए । आमाछोरी पोखरा आउँदै गर्दा लीलादेवी सामान्य घाइते भए पनि आमा गम्भीर घाइते भइन् । दुवैलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइयो । लीला सामान्य उपचारपछि डिस्चार्ज भइन् । तर, उपचारका क्रममा आमाको पुस १७ गते मृत्यु भयो।

उक्त दुर्घटनाको बारेमा तनहुँ प्रहरीले अनुसन्धान गर्दै जाँदा टिपर चालक र छोरी लीलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान ग¥यो । स्कुटर चालक लीलादेवी नेपालीको सवारी चालक अनुमति पत्र नभेटिएपछि टिपर चालकसहित लीलालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत तनहुँमा पेस गरेको थियो । जिल्ला अदालत तनहुँले लीलासहित दुवै चालकलाई पुर्पक्षका लागि जेल चलान गरेका छ।

प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सजाय माग गरी मुद्दा चलाइएको थियो । आमाको मृत्युमा टिपरको ठक्कर मूल कारण भए पनि सवारी चालक अनुमति पत्र नलिई स्कुटर चलाएका कारण छोरीलाई समेत सवारी ज्यान मुद्दा दायर हुँदा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । साभारः रातोपाटी 

 

प्रतिक्रिया दिनुहोस्