Flash News

चार सय विद्यार्थीलाई न्यानो कपडा सहयोग

२२ पुष २०८०, आईतवार १३:२५

विराटनगर । एकीकृत हातेमालो समाज नेपालले मोरङको बेलबारी नगरपालिका–७ बाहुनीका ४ सयभन्दा बढी बालबालिकालाई न्यानो कपडा सहयोग गरेको छ । बाहुनी बजारमा आइतबार आयोजित कार्यक्रममा नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य र आयोजक संस्थाका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकालाई ज्याकेट र स्वीटर वितरण गरेका हुन् । स्थानीय किसान आधारभूत विद्यालय र देवकोटा प्राविका करिब ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष गिरीले जानकारी दिए । सोही अवसरमा रोटरी क्लब अफ भादगाउँसँगको सहकार्यमा ७० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई ब्ल्लाङ्केट, १५ जना विपन्नलाई सिरक, डसना, सिरानीसमेत प्रदान गरिएको थियो ।

स्थानीय क्लबलाई फुटबल, जर्सी, नेटलगायतसमेत वितरण गरिएको थियो । समाजकै पहलमा बाहुनीमा स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा मन्त्री आचार्यले नवनिर्मित सभाहलको उद्घाटन गरे । कार्यक्रममा मन्त्री आचार्यले बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा एकीकृत हातेमालो समाजले महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे । राज्य पूरा गर्नुपर्ने दायित्व एकीकृत हातेमालो समाजजस्ता संस्थाले पूरा गरिरहेको उनको भनाइ थियो । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा दैनिक ७० जना ज्येष्ठ नागरिकले सेवा लिने गरेको अध्यक्ष गिरीले बताए । उनले ज्येष्ठ नागरिकहरु दिनभरि बस्ने, दुःखसुख साटासाट गर्ने, भजन गाउने, नाच्ने, रमाइलो गर्ने गरेको जानकारी दिए । उनीहरुलाई दिउँसोको नास्ता सेवा केन्द्रमै उपलब्ध गराउँदै आएको गिरीले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले बाहुनी क्षेत्रमा हातेमालो समाजले महत्वपूर्ण कार्य गर्दै आएकोमा धन्यवाद दिए । उनले सामाजिक संस्था कसरी चलाउनुपर्छ भनेर एकीकृत हातेमालो समाजबाट सिक्नु जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्