Flash News

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

२२ पुष २०८०, आईतवार १३:४९

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहरुको जाँच गर्न थालेको छ ।

मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढेको पाइएपछि कडाइ गर्न थालिएको हो । यसअघि साँझको समयमा मात्र यस्तो जाँच गरिँदै आएकामा अब भने दिउँसो पनि निगरानी गरी जाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले एम्बुलेन्स, सिटी सफारी, अटो रिक्सा, विद्यालयका सवारीसाधन, ट्याक्टर लगायतका सवारीसाधनका चालकहरुको जाँच गर्ने क्रम तीव्र बनाएको छ । त्यस क्रममा कतिपय चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि कारबाही गर्न थालिएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म मोरङमा ५ सय ६१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाहरुमा ५२ जनाको मृत्यु भएको छ भने ८ सय ७६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्