Flash News

महिलालाई आत्मनिर्भर बनाउने ‘आत्मीय’

४ माघ २०८०, बिहीबार १२:०७

काठमाडौं । भक्तपुर राधेराधे बस्ने मीना राजवंशी पढेलेखेकी छैनन् । जागिर छैन् । तर, उनी आत्मनिर्भर छिन् । आत्मीय महिला केन्द्रले उनलाई आत्मनिर्भर बनाइदिएको छ ।

‘संस्थामा आबद्ध भइसकेपछि गुडिया बनाउन सिकेँ । घरमा सजावटका लागि प्रयोग हुने अन्य सामग्रीहरु बनाउन जान्ने भएँ । १४ वर्षदेखि यही काम जीवन धान्ने माध्यम बनेको छ,’ उनले भनिन्,‘सीप जानिसकेपछि सामग्री तयार गर्न समय लाग्दैन रहेछ । अहिले विदेश निर्यात हुने विभिन्न स्टाइलका गुडियाहरु तयार गर्ने गर्छु । संस्थाले पनि विश्वास गरेको छ ।’

मीना जस्तै अन्य दर्जनभन्दा बढी महिलाले यही काम गरिरहेका छन् । संस्थामा आबद्ध भइसकेपछि नयाँ नयाँ कामहरु सिक्न पाइने गरेको मीनाको भनाइ छ । ‘फुर्सदिलो भएर घरमा बसिरहनुभन्दा कोठाभित्रै बसेर काम गर्न पाइएको छ । आम्दानी पनि भइरहेको छ । घर चलाउन सहज भएको छ,’ उनले भनिन्,‘पहिला काम गर्न जान्दिन कि भन्ने लागेको थियो । धागोलाई बुनेर विभिन्न किसिमका गुडियाको रुप दिनका लागि कठिन होला भन्ने लागेको थियो । तर अब अभ्यस्त भइसकेँ ।’

मीनालाई आत्मनिर्भर बनाउने श्रेय ‘आत्मीय महिला केन्द्र’लाई जान्छ । सन् २००६ मा माइकल डोबीले नेपाली महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संस्था स्थापना गरेका थिए । स्थापना पश्चात धेरै महिला सीप सिकेर आत्मनिर्भर भइसकेका छन् ।

संस्थाको मुख्य कार्यालय ‘चित्त फाउन्डेसन’ भन्ने न्यूयोर्कमा छ । त्यही संस्थाले भारत र नेपालमा महिला सशक्तिकरणका लागि शिक्षा र स्वास्थ्यमा आधारित कामहरु गर्ने गरेको छ । यसै सिलसिलामा नेपालमा आत्मीय महिला केन्द्रसँग सहकार्य गरेर काम गरिरहेको छ । उद्यम केन्द्रको सितु हाडाका अनुसार आत्मीय एक सामाजिक उद्यम गर्ने संस्था हो जसले महिलाहरूलाई सामाजिक रूपमा सचेत गराउने,विभिन्न ब्रान्डहरू उत्पादन गर्ने, सिलाइबुनाइका माध्यमबाट विभिन्न डिजाइनरहरू तयार गर्ने र क्रोसेट उत्पादन गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गर्छ ।

‘परम्परागत क्रोसेट र बुनाइ कलाको संरक्षण गर्दै समुदायका महिलाहरूलाई तालिम प्रदान गर्ने र उनीहरूलाईसुरक्षित रूपमा काम गर्ने अवसर प्रदान गर्ने संस्थाको लक्ष्य छ,’ हाडाले भनिन्, ‘केन्द्र हाल आत्म–दिगो मोडेल अन्तर्गत चलिरहेको छ । जसको मुख्य उद्देश्य स्थानीय नेपाली महिलाहरूलाई सम्मानित, सीपमा आधारित रोजगारीको बाटो खोजिदिने हो । अवसरहरू उपलब्ध गराउने हो ।’

एक सयभन्दा बढी आत्मनिर्भर महिला उत्पादन गरिसकेको संस्थामा हाल ४० जना आबद्ध छन् । आधुनिक प्रविधिको समयमा धेरै नपढेका, प्राविधिक ज्ञान नभएका महिलाहरुलाई घरमा बसीबसी आम्दानीको बाटो खोज्ने प्रयास गरेको हाडाको भनाइ छ ।

यस्तै,उनका अनुसार संस्थाको ८५ प्रतिशत कामबाहिरबाट नै अर्डर आउने गरेकाले सामानहरु धेरैजसो विदेश नै निर्यात हुने गरेको छ । उनले भनिन्, ‘हामीले यसको बजार बढाउनको लागि हाम्रो सामानलाई बढीभन्दा बढीप्रयोगमा ल्याउन सक्नुपर्छ । हातले बनाएको सामान जस्तो भएपनि बनाउन समय लाग्छ । मेसिनले एक मिनेटमै सयवटा सामान बनाउने होइन । दिनभरि लगाएर मिहिनेतले एउटा सामान बनाउने भएको हुनाले त्यही अनुसारको मूल्य पर्छ । त्यही भएकाले अलिक महँगो हुन्छ । तर बलियो र टिकाउ हुन्छ ।’ उनले काम छ, बजार पनि छ तर त्यसलाई प्रयोग गर्न नसकेको भन्दै यो क्षेत्रमा अझै पनि धेरै सम्भावनाहरु भएको बताइन् । यो संस्थालाईकाठमाडौंमा मात्रै होइन्, बाहिर पनिस्थापना गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्