काठमाडौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालले मिटर ब्याजविरुद्ध न्याय मार्च कार्यक्रमको घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी समितिले माघ १६ गते शारीरिक यातना र पीडितले गरेका आत्महत्या जस्ता क्षतिलाई क्षमता एवम् शोकलाई शक्तिमा बदली न्यायिक संघर्षको निर्णायक चरणमा मिटर ब्याजविरुद्ध न्याय मार्च सुरु गर्ने जनाएको हो ।
शहिद दिवसको दिनमा पश्चिममा (कञ्चनप्रमा किसान आन्दोलनका महान् नेता भीमदत्त पन्तप्रति श्रद्धा अर्पण गर्दै संकल्प सभा सञ्चालन गरी मसाल बोकेर पैदल यात्रा) र पूर्व (झापा) बाट एकै साथ पीडितहरुले मार्च गर्ने समितिले जनाएको छ ।
समितिले तीन चरणमा कार्यक्रम गर्ने तयारी गरेको गरिरहेको छ । पहिलो चरण–मार्चको क्रममा पूर्वको टोलीले पूर्वी कमाण्ड (झापा, मोरङ्ग, सुनसरी र उदयपुर), मिथिला कमाण्ड (धनुषा, महोत्तरी, सिरहा र सप्तरी) र भोजपुरा कमाण्ड (बारा, पर्सा, रौतहट र सर्लाही) का पीडितलाई समेट्दै मध्य कमाण्डको चितवनसम्म पुग्ने तयारी छ ।
यसैगरी, पश्चिमको टोलीले पश्चिम कमाण्ड (कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र सुर्खेत), लुम्बिनी कमाण्ड (दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी) मध्यकमाण्ड (नवलपुर, चितवन, मकवानपुर र तनहुँ) का साथीहरुलाई समेटेर मध्यकमाण्डको चितवनसम्म पुग्ने जनाइएको छ ।
दोस्रो चरण–चितवनमा पैदल यात्रा र अन्यटोली समेत जम्माहुनेछ । सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएपछि काठमाडौंको यात्रा तय गर्नेछ ।
तेस्रो चरणमा काठमाडौँ प्रवेशको नाका थानकोटमा उपत्यका कमाण्ड (काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ र काभ्रे) को संयोजनमा भेला भई पीडितहरु, नागरिक अगुवा, विद्यार्थी, न्यायप्रेमी जनसमुदायका बृहत सहभागितामा राजधानीमा मार्च गरिनेछ । मिटर ब्याजविरुद्ध न्याय मार्चले आफ्ना ६ बुँदे माग पूरा गराउन परिणाम निस्कने गरी दबाब सिर्जना गर्ने समितिले जनाएको छ ।