शिक्षा-स्वास्थ्य

भदौदेखि लेखा विषयको अध्यापन नहुँदा विद्यार्थी आन्दोलित

१७ माघ २०८०, बुधबार ११:३४

भैरहवा, १७ माघ ।  रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन ।  कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले लेखा विषयको कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् ।

प्रावि तहमा दरबन्दी रहेका शिक्षक सदरे आलम अवकास प्राप्त भएदेखि भदौदेखि लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थीहरुले सामुहिक रुपमा ताला लगाएका हुन् । लामो समयदेखि विद्यालयमा लेखा विषयको शिक्षक नहुँदा पठनपाठन नभएकोले नजिकिदै गरेको फाइनल परिक्षा कसरी दिनमा चिन्तित रहेको विद्यार्थीहरुले भने ।

पटक–पटक माग राख्दा समेत पहल नभए पछि हाम्रो भविष्य नै अन्योल हुने देखिएकोले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताए । हाम्रो भविष्य माथिनै खेलवाड भइरहेको छ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन वा सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुले भने ।

शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै गएको र आउने परीक्षामा के लेख्ने कसरी पास हुने भन्नेमा विद्यार्थी चिन्तित छन् । फाइनल परीक्षा नजिकिँदै गर्दा समेत विद्यालय व्यवस्थापन समितिले विषय शिक्षक उपलब्ध नगराएको कारण पढाई हुन सकेको छैन ।

कक्षा ९ मा ३७ जना र कक्षा १० मा ४३ जना विद्यार्थी भर्ना भएको अधिकांस विद्यार्थी लेखा विषय ऐच्छिकमा लिएर पढ्दै आएका थिए । अहिले कक्षा ९ मा २९ जना र कक्षा १० मा २६ जना विद्यार्थी ले लेखा विषय शिक्षक नभएकै कारण पढ्न पाएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश यादवले विद्यार्थीको पढाइ प्रभावित भएको कुरा सम्बन्धित ठाउँमा अवगत गराएका बताए ।

विद्यालयमा भदौसम्म केही पाठहरु मात्रै पढेका विद्यार्थीहरुले त्यसयता कुनै पनि लेखा विषयको कक्षा लिएका छैनन् । विद्यालयको व्यवस्थापन समितिले विषय शिक्षक नभएपछि सिताराम कोइरी र नारायण ज्ञवालीलाई अध्यापनका लागि सहमति दिएको थियो । २०८० पुस १४ गते सहमति दिए पनि अन्तरजिल्ला भएको कारण उनीहरुले नआएपछि विद्यालय व्यवस्थापन समितिले जिल्लाकै वीरेन्द्र यादवलाई सहमति दिएको थियो । विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा वडाध्यक्ष समेत रहने भएको यादवको सहमतिमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवको हस्ताक्षर नभएकोले उनी आउन सकेका थिएनन् ।

विद्यालयका प्राधानाध्यपक प्रविन श्रीवास्तवका अनुसार व्यवस्थापन समितिले पुनः २०८० माघ १५ गते बैठक बसी सहमतिका लागि निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा शाखाको कारण शिक्षक आउनमा ढिलाई भइरहेको छ । विद्यालयमा माध्यमिक तहको विज्ञान र निम्न माध्यमिक तहको नेपालीको शिक्षक पनि काज सरुवा भई गएपनि ति ठाँउमा थप शिक्षक आएका छैनन् ।

सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले  महात्मा बुद्ध माध्यमिक विद्यालयमा लेखा विषयको पढाइ भदौदेखि नभएको भन्ने कुनै जानकारी नभएको बताए । यता विद्यालयले बैठक र पत्रमार्फत शिक्षकको माग गरेको दाबी गर्दै आएका छन् । शैक्षिक सत्रको सकिन लाग्दा, परीक्षा नजिकिँदै गर्दा भने विद्यार्थीमा शिक्षक आउला नआउला भन्नेमा अन्योलता छ ।

प्रतिक्रिया दिनुहोस्