दानबहादुर बुढा,
मुगु । अक्कल कोपिला फाउण्डेशनले मुगुको एक गाउँमा कक्षा–१ र २ का विद्यार्थीहरूलाई पढाउन घण्टे शिक्षक राखेको छ । छायाँनाथ रारा नगरपालिका—१३ मा जन्मिएका अक्कल बोहोरा हाल स्पेनमा बस्दै आएका छन् । उनै बोहोराले आफू र श्रीमती कोपिलाको नाममा रहेको फाउण्डेसनमार्फत् यहाँको बामा गाउँमा रहेको हिमोदय माविमा कक्षा–१ र २ मा अध्ययनरत ८५ विद्यार्थीलाई पढाउन घण्टे शिक्षकको प्रबन्ध गरिदिएको हो । फाउण्डेशनले सो विद्यालयमा दैनिक दुई घण्टा पढाएवापत् दुई जना शिक्षकलाई पारिश्रमिकको प्रबन्ध गरेको छ ।
‘सरकारी शिक्षाको गुणस्तरमा प्रश्न छ । म घर आएका बेला गाउँका भाइबहिनीको शिक्षाको विषयले मन पोल्यो । सानो कक्षामा पनि धेरै विद्यार्थीहरु गाउँमै पढिरहेका रहेछन्, उनीहरुको भविष्यप्रति चिन्ता लागेर सानो सहयोग गरेको हुँ,’ फाउण्डेसनका अध्यक्ष अक्कल बोहोराले भने । फाउण्डेशनले दुई शिक्षक राखिदिएपछि गाउँका बालबालिकालाई पढाइमा मद्धत पुगेको स्थानीय तिलबहादुर बुढाले बताए ।
वडा नं. १४ का अध्यक्ष जुनबहादुर खड्काले फाउण्डेशनले गाउँका बालबालिकाका लागि ठूलो सहयोग गरेको बताए । ‘गाउँका बालबालिकाको शिक्षामात्रै होइन, वडामा प्रवेशद्धारदेखि चौतारा बनाउने सम्ममा उहाँले सहयोग गर्नुभएको छ,’ उनले भने ।