Flash News

टर्की/सिरिया भूकम्प: किन भूकम्प प्रतिरोधी भवनहरू पनि ढले ?

२९ माघ २०७९, आईतवार ०६:१०

काठमाडौँ। टर्कीमा नयाँ बनेका बहुतल्ले आवासीय भवनहरूसमेत भूकम्पका कारण ढलेपछि मानिसहरू आक्रोशित भएका छन्।

बीबीसीले भग्नावशेषमा परिणत भएका तीन वटा नयाँ भवनहरूको जाँच गरेर भवन सुरक्षामा तीनले उजागर गरेका पक्षहरू पत्ता लगाउने प्रयास गरेको छ।

दक्षिणी टर्की र उत्तरी सिरियामा ७.८ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पहरूले हजारौँ मानिसहरूको ज्यान लिनुका साथै सबैखाले भवनहरू जमिनसम्मै भत्काइदिएको छ।

यहाँको भूकम्पमा सबैभन्दा नयाँ केही भवनहरू पनि ढलेपछि भवन सुरक्षाको मापदण्डबारे केही जरुरी प्रश्नहरू उठेका छन्। आधुनिक निर्माणको प्रविधि अनुसार निर्माण भएका भवनहरूमा यो हदसम्मको धक्काबाट ठूलो क्षति हुन नहुने हो। यसअघिका भूकम्पपछि बनेका मापदण्डहरूका कारण यो देशमा नयाँ भवनहरूमा यो सुरक्षा सुनिश्चित भएको हुनुपर्ने हो।

एक वर्षअघि बनेको ‘अपार्टमेन्ट’

बीबीसीले अध्ययन गरेका तीनवटा मध्ये पहिलो भवनको सामाजिक सञ्जालमा आएका भिडिओहरूमा मानिसहरू चिच्याइरहेको र जोगिन दौडिरहेको देखिन्छ।

मलाट्यामा रहेको भवनको तल्लो आधा भाग भत्कँदै गरेको देखिन्छ र माथिल्लो भाग कोल्टे परेर अडिन्छ। यो बहुतले आवासीय भवन ‘अपार्टमेन्ट’ गत वर्ष मात्रै बनेको हो।

सामाजिक सञ्जालमा राखिएका भवनका यसअघिका विज्ञापनहरूमा यो भूकम्प प्रतिरोधी मापदण्ड अनुसार बनेको दाबी गरिएको छ। यसमा प्रयोग भएका सबै सामग्री र काम “उच्च गुणस्तरका” भएको विज्ञापनमा दाबी गरिएको छ।

टर्की भूकम्प

यसको आफ्नै विज्ञापन भने अहिले अनलाइनमा उपलब्ध छैनन् तर सामाजिक सञ्जालमा राखिएका स्क्रीनसट र भिडिओहरूबाट यही कम्पनीको विज्ञापन भएको ठम्याउन सकिन्छ।

हालै बनेको मतलब यो सन् २०१८ मा अद्यावधिक गरिएको नयाँ भवन निर्माण मापदण्ड अनुसार बनेको हुनुपर्छ। यो मापदण्डमा भूकम्पको जोखिमयुक्त क्षेत्रमा बन्ने नयाँ संरचनाहरूमा उच्च गुणस्तरको कङ्क्रिटलाई स्टिलको डन्डी प्रयोग गरेर मजबुत बनाउनुपर्ने भनिएको छ।

भवनमा प्रयोग हुने पिल्लरको लहर र बीमहरू पनि भूकम्पको प्रभाव कम गर्न सक्नेगरी राखिनुपर्ने नियम छ। बीबीसीले यो भवन निर्माणमा प्रयोग भएको मापदण्ड पुष्टि गर्न सकेको छैन।

१६ तले भवनको आधा भाग जमिनमा

तस्बिरहरूले तटीय सहर स्केन्दोरुनमा हालै बनेको अर्को अपार्टमेन्ट भवनको पनि धेरै भाग भत्किएको देखाएका छन्। सोह्र तल्ले उक्त भवनको अगाडी र छेउपट्टिको भाग पूरै भत्किएका छन् भवनको एउटा भाग मात्रै ठाडो अडिएको छ।

टर्की भूकम्प

निर्माण कम्पनीले भवनको प्रवर्द्धनका लागि प्रयोग गरेको तस्बिरसँग उक्त भत्किएको भवनको तस्बिरलाई बीबीसीले तुलना गरेर हेर्दा एउटै देखिएको छ।

यो भवन सन् २०१९ मा निर्माण सकिएको देखिन्छ। यसको अर्थ उक्त भवन पनि नयाँ मापदण्ड अनुसार बनेको हुनुपर्छ। बीबीसीले भवन निर्माण गर्ने कम्पनीसँग सम्पर्क गरे तापनि कुनै जवाफ पाएन।

नौ तले भवनको अधिकांश भाग भग्नावशेष

बीबीसीले पुष्टि गरेको एन्टाकीयाको अर्को भवनको तस्बिरमा पनि नौ तले भवनको अधिकांश भाग भग्नावशेष भएको छ। यसमा निर्माणकर्ताको नाम पनि देखिन्छ: ‘गुक्लु बाची’। हामीले उक्त भवनको उद्घाटन समारोहको भिडिओ भेट्यौँ जसले यसको निर्माण सन् २०१९ को नोभेम्बरमा सकिएको पुष्टि गर्छ।

टर्की भूकम्प

तस्बिर स्रोत,TWITTER

उक्त भिडिओमा निर्माणकर्ताले यो परियोजना निर्माणको गुणस्तरका दृष्टिले समेत विशेष रहेको दाबी गरेको छ। बीबीसीको जिज्ञासामा यसका निर्माताले भनेका छन्, “मैले बनाएका सयौँ भवनहरूमध्ये दुर्भाग्यवश र दुखद् रूपमा दुई वटा भत्किएका छन्।” उनले भूकम्पको ठूलो धक्काका कारण यो सहरका लगभग सबै भवन ढलेको दाबी गरेका छन्।

भवन निर्माण गुणस्तरबारे बहस

कडा भूकम्प प्रतिरोधी मापदण्ड लागु भएको क्षेत्रमा धेरै भवनहरू ढलेपछि टर्कीका धेरै मानिसहरूले भवन निर्माण गुणस्तरबारे प्रश्न गरिरहेका छन्। भूकम्प शक्तिशाली भए पनि राम्रोसँग बनाइएका भवनहरूले यसको धक्का बहन गर्न सक्नुपर्ने विज्ञहरू बताउँछन्।

टर्की भूकम्प

“यो भूकम्पको धक्का निकै ठूलो भए पनि राम्रोसँग बनाइएका भवनहरू ढाल्ने किसिमको थिएन,” लन्डनस्थित युनिभर्सिटी कलेजका विज्ञ डेभिड एलेक्जान्डरले भने।

“धेरै ठाउँमा धक्काको स्तर अत्यधिक मापन भएको ठाउँमा भन्दा कम थियो। त्यस कारण हामी के निष्कर्ष निकाल्न सक्छौँ भने भत्किएका हजारौँ घरहरूमध्ये अधिकांशले निर्माण मापदण्ड पूरा गरेका थिएनन्।”

निर्माण मापदण्डको कार्यान्वयनमा असफलता

सन् १९९९ मा देशको उत्तर पश्चिमी भूभागमा भूकम्पले १७,००० मानिसहरूको ज्यान लिएपछि भवन निर्माणको मापदण्डमा कडाइ गरिएको छ।

तर कुनै मापदण्डहरूको कार्यान्वयन कमजोर छ। “अर्को पक्ष के पनि हो भने भइरहेका भवनहरूको सबलीकरण पनि निकै काम भएको छ र नयाँ भवनहरूमा पनि मापदण्ड पालना न्यून छ,” प्राध्यापक एलेक्जान्डरले भने।

बीबीसीका मध्यपूर्व संवाददाता टम बेटमनले दक्षिणी सहर अडानामा कुरा गरेका कतिपयले भत्किएकामध्ये एउटा भवन २५ वर्षअघिको भूकम्पमा पनि चर्किएको तर राम्रोसँग सबलीकरण नगरी छोडिएको बताएका छन्।

टर्की भूकम्प

ठूल्ठूला भूकम्प आइरहने विगत भए पनि जापानजस्ता देशहरूमा दशौँ लाख मानिसहरू घना जनसङ्ख्या भएको क्षेत्रमा अग्ला भवनहरूमा बसिरहेका छन्।

यसले पनि भूकम्प प्रतिरोधी निर्माणको मापदण्ड पालनाले कसरी मानिसहरूलाई विपद्‍बाट जोगाउन सकिन्छ भन्ने देखाउँछ। भूकम्प सम्बन्धी सुरक्षाको मापदण्ड भवनको प्रयोग र भूकम्पको जोखिमयुक्त क्षेत्रसँगको दूरीका कारण फरकफरक हुनसक्छ।

जसमा सामान्य सुदृढीकरणदेखि भवन भरी जडान हुने मोसन ड्याम्परहरूसम्म पर्दछन्। कतिपय भवनहरूलाई जमिनमा हुने कम्पनबाट अलग गर्न भवनको मुनि पट्टी झट्का अवशोषक राख्ने गरिन्छ।

मापदण्ड पालना कमजोर हुनुको कारण के हो?

टर्कीमा सरकारले भवन निर्माणको मापदण्ड पालना नगरेका भवनहरूलाई निश्चित जरिवाना लिएर सुरक्षा प्रमाणपत्र दिने गरेको छ। सन् १९६० देखि सुरु गरेर सन् २०१८ सम्म यस्तो प्रचलन कायम रह्यो।

आलोचकहरूले यस्तो छुट दिने प्रचलनले भूकम्प जस्ता विपत्तिमा जोखिम बढाउन सक्ने भन्दै लामो समयदेखि चेतावनी दिँदै आएका छन्। भूकम्प प्रभावित दक्षिणी टर्कीमा ७५,००० भवनहरूले यस्तो छुट पाएको इन्जिनियरहरूको एउटा संस्थाले जनाएको छ।

पछिल्लो भूकम्प आउनुभन्दा केही दिन अघिसम्म पनि टर्कीका सञ्चारमाध्यमले थप भवनहरूलाई यस्तो छुट दिन तयार गरिएको नयाँ कानुन संसद्‌मा स्वीकृतिका लागि पठाइएको उल्लेख गरेका थिए।

टर्की भूकम्प

एकजना भूगर्भविद्ले भने भूकम्पको उच्च जोखिम रहेका क्षेत्रमा यस्तो छुट दिने कानुन पारित भए त्यो “अपराध” हुने चेतावनी दिएका थिए। बीबीसी टर्कीसले प्राप्त गरेको प्रतिवेदनले सन् २०२० मा घातक भूकम्प गएको इजमिर प्रान्तमा ६,७२,००० भवनहरूले यस्तो छुट प्राप्त गरेको देखाएको थियो।

उक्त प्रतिवेदनले त्यहाँको वातावरण र सहरीकरण मन्त्रालयलाई उद्धृत गर्दै सन् २०१८ मा करिब एक करोड ३० लाख भवनहरू मापदण्ड उल्लङ्घन गरेर निर्माण गरिएको उल्लेख गरेको थियो। बीबीसीले भवनको गुणस्तरबारे राखेको जिज्ञासामा वातावरण र सहरीकरण मन्त्रालयले आफ्नो प्रशासनले बनाएका कुनै पनि भवन नभत्किएको र भूकम्प गएका स्थानमा क्षतिको मूल्याङ्कनका कामहरू धमाधम भइरहेको जवाफ दिएको छ।

ओल्गा स्मिरनोभा, एलेक्स मुर्रे, रिचार्ड इर्भाइन ब्राउन र दिले याल्चिनको सहयोगमा।

प्रतिक्रिया दिनुहोस्