Flash News

जीर्णोद्धारको पखाईमा गुरा देउताको मन्दिर

९ चैत्र २०८०, शुक्रबार १०:५०

मुगु। मुगु जिल्लास्थित सोरु गाउँपालिका–३ भीई गाउँमा रहेको ऐतिहासिक तथा प्राचिन धार्मिक महत्व रहेको गुरा देउताको मन्दिर जीर्णेद्धारको पखाईमा छ।

करिव १३औं शताब्दी अघिको गुरा देउताको मन्दिर अहिलेसम्म आधुनिक र कलात्मक शैलीमा जीर्णेद्धार नहुँदा धामी डाङग्री, स्थानीय चिन्तित छन्।

करिव १३औं शताब्दी अघिको गुरा देउताको मन्दिर जीर्णेद्धारको प्रतिक्षामा रहेको मन्दिरका धामी परे धामीले बताए। मन्दिर एक तले घरशैलीमै रहेको र बर्खामा पानी चुहिदा मूर्ती र घण्ट खिया लाग्ने र असुरक्षित हुन थालेको उनको भनाई छ। जीर्ण मन्दिरले गर्दा पुजापाठ गर्न मेला पर्वमा धामी नाच्न भक्तजनलाई पूजाआजा गर्न कठिनाई हुने गरेको छ।

मन्दिरको नाममा करिव २५ वर्गमिटर जग्गा भएपनि बजेट अभावले गर्दा जीर्णेद्धार गर्न नसकिएको पुजारीले सुनाए। धार्मिक महत्व रहेको गुरा देउताको मन्दिर इतिहास कालदेखि जीर्ण अवस्था रहँदा चिन्ता उब्जिएको भीई गाउँका दलबीर कार्कीले भने जिल्लाभरिका धेरै मठमिन्दर बने तर यो बन्न सकेन।

बजेटकै समस्याले धार्मिक महत्व बोकेको १३औं शताब्दी अघिको गुरा देउताको मन्दिर जीर्णेद्धार गर्न नसकिएको सोरु गाउपालिका–३ भीई गाउँका वडाअध्यक्ष सिंहबहादुर धामीले भने पुरातत्व विभाग, संघ र प्रदेशमा बारम्बार बजेट माग गर्दा पनि सुनुवाई भएन।

वडा अध्यक्षकाअनुसार वडाको न्यून बजेट स्थानीयको आबश्यकतामै सकिन्छ मन्दिर जीर्णेद्धार गर्न कम्तिमा ६० देखि ७५ लाख बजेट चाहिने देखिन्छ। भीई गुरा देउताको मन्दिरमा अहिले डेढ दर्जनभन्दा बढी धामी डाङग्री भइ सकेका छन्।

भीई गुरा देउताको मन्दिरमा हरेक दिन पूजापाठ भक्तजनबाट भेटी बोका चढाउने गरिएको भएपनि बिशेषगरी असोज कार्तिकमा पर्ने नवमी ठूलो धार्मिक मेला लाग्ने गरेको छ। उक्त मेलामा धामी नाच हेर्न पूजापाठ गरि वरदान माग्न बाजुरा, हुम्ला, जुम्ला, अछाम, दैखेल, सुर्खेत, बाँके, बर्दिया, कैलालीबाट भक्तजनहरू आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्