कला/मनोरञ्जन

अभिनयमा ब्यस्त बन्दै मिस पबी

४ फाल्गुन २०७९, बिहीबार ०८:०७

काठमाडौँ। अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक। टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी पनि गर्न सकिन्छ। थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन्। टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ अचेल। त्यसैले पछिल्लो समय कलाकारितामा टिकटकबाट भित्रिनेको लर्को लागेको छ । ती मध्ये धेरै अभिनयमा दिन प्रतिदिन ब्यस्त समेत बन्दै गएका छन्।

 

यस्तै टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी। टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन्। केही अगाडि सार्वजनिक गायिका अनु चौधरी र गायक प्रताप दासको स्वर रहको गीत ‘सँगसँगै’, गायक सुनिल गिरीको गीत ‘जुम्ला’ होस् वा गायक हिमाल सागरको नयाँ गीत ‘आह कति राम्री’ सबैका म्युजिक भिडियोमा उनी नै छाएकी छन् । सबै भिडियोमा पुरुष मोडल भने फरक फरक छन्।

पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको रुपमा प्रथामिकतामा पर्ने गरेकी छन्। टिकटक र मिडियामा राम्रो चर्चा हुने र भिडियोले पनि राम्रै भिउज पाउने भन्दै उनलाई भिडियो खेलाउन थुप्रै पछि लाग्न थालेका छन् । त्यसैले सातामै उनी अभिनित दुई वा सो भन्दा बढी म्युजिक भिडियो सार्वजनिक समेत हुने गरेका छन्। भिडियोका अलवा अचेल उनलाई विज्ञापन, विभिन्न टेलिसिरियलमा समेत अफर आउन थालेको छ।

डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी उनी डडेल्धुरी भाषामा टिकटक भिडियो पोष्ट गरेको कारण भाइरल भएकी थिइन्। यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’ मा देखिने भएकी छिन्। त्यसका लागि उनले केही दिन अगाडि दुइ भाग अभिनय समेत गरिसकेकी छन्। समय मिलेसम्म मेरी बास्सै नियमित अभिनय गर्ने उनको सोच रहेको छ। अन्य केही सिसियलको पनि उनलाई अफर भएको बताइन्छ। समय मिलेसम्म अफर आएका अभिनय गर्ने उनको सोच छ।

प्रतिक्रिया दिनुहोस्