Flash News

कांग्रेस-माओवादीसहितका दलबीच निर्णायक वार्ता हुँदै

११ फाल्गुन २०७९, बिहीबार ०९:१७

काठमाडौँ। राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री दाहालले बिहीबार सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्न लागेका छन् । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार राष्ट्रपति निर्वाचनबारे नेपाल र यादवसँगको छलफलपछि दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन्। ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति, राष्ट्रिय सहमति जुटेन भने अधिकतम सहमति जहाँनेर जुट्छ त्यहाँ जाने भन्ने हो,’उनले भने।

कांग्रेस नेता रमेश लेखकले बिहीबार नै राष्ट्रपति निर्वाचनबारे माओवादी लगायतका राजनीतिक दलहरूसँग छलफल हुन लागेको जानकारी दिएका छन्। अहिले कांग्रेसका शीर्ष नेताहरू आन्तरिक छलफलमा रहेका छन्।

नयाँ राष्ट्रपति चतनको विषयलाई लिएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका राजनीतिक दलहरूको बिहीबार निर्णायक छलफल हुन लागेको छ । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा दुई पक्षीय र बहुपक्षीय छलफल गर्ने र साँझ सबै राजनीतिक दलहरू एकठाउँमा बस्ने तयारी भइरहेको बताइएको छ।

प्रधानमन्त्री निवासमा बुधबार कांग्रेस सभापति देउवा लगायत नेताहरूले प्रधानमन्त्री दाहालसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए। बुधबार पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका नेताहरूले दुईपक्षीय छलफल गरेका थिए। त्यसपछि बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनाउने समझदारी भएको थियो।

बिहीबार हुने बैठकमा बुधबारको बालुवाटारमा भएको समझदारीलाई औपचारिकता दिनका लागि भावी सत्ता समीकरणको खाकासमेत तय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्