काठमाडौं स्थित शंकरदेव क्याम्पसमा बुधबार दिउँसो आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको इतिहास, विकासक्रम, राजनीतिक संघर्ष, सामाजिक तथा भौगोलिक परिवेश, उपलब्धि, वर्तमान चुनौती र भावी सम्भावनालाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको लेखक बोगटीले बताउनुभयो ।
पुस्तकमा कर्णालीमा कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक गतिविधि र संघर्षको समीक्षा गर्दै आन्दोलनले कर्णालीको सामाजिक तथा राजनीतिक रूपान्तरणमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । कर्णालीको भूगोल, सामाजिक संरचना, जनजीवन र राजनीतिक चेतनाको विकाससँग कम्युनिष्ट आन्दोलनको सम्बन्धलाई समेत पुस्तकमा विश्लेषण गरिएको छ ।
बोगटीका अनुसार कर्णालीको कम्युनिष्ट आन्दोलनसँग जोडिएका महत्वपूर्ण घटनाक्रम र अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु तथा नयाँ पुस्तालाई आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनु पुस्तक लेख्नुको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
हुम्लाको अदानचुली गाउँपालिका–२ श्रीनगर स्थायी ठेगाना भएका बोगटीको यो छैटौँ कृति हो । उहाँले यसअघि ‘श्रीनगरदेखि बल्खुसम्म (२०६८)’, ‘कर्णालीमा कम्युनिष्ट आन्दोलन (२०७२)’, ‘कर्णाली प्रदेश (विगत, वर्तमान र समृद्धिका सम्भावनाहरू २०७५)’, ‘कर्णालीमा पर्यटन विकासका सम्भावना र अवसरहरू (२०७७) ’ र ‘समकालीन विचारहरू (२०८०)’ लगायतका कृति प्रकाशन गरिसक्नु भएको छ ।
ग्रामीण विकास विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका बोगटीले नेकपा एमालेमा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालि सक्नुभएको छ । हाल उहाँ केन्द्रीय सामाजिक सेवा विभाग प्रमुखका रूपमा पाटीको काम गर्दै आउनु भएको एमाले काठमाडौ सम्पर्कमञ्चका सहसचिब विरजन महताराले बताउनु भयो ।
कर्णालीको कम्युनिष्ट आन्दोलनलाई इतिहासको आँखाबाट हेर्दै वर्तमानको समीक्षा र भविष्यको दिशाबारे बहस अघि बढाउने प्रयास भएकाले पुस्तकलाई कर्णालीको राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ । पुस्तकले कर्णालीको राजनीतिक तथा सामाजिक रूपान्तरणमा कम्युनिष्ट आन्दोलनको भूमिकासँगै आगामी दिनमा आन्दोलनले लिनुपर्ने दिशा, चुनौती र सम्भावनाबारे समेत बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
लोकार्पण समारोहमा महासचिव पोखरेल प्रमुख अतिथि तथा पुर्वमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिका सदस्य शक्तिबहादुर बस्नेत विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो



