राजनीनिती

महामन्त्रीबाट बर्खास्त भएका डा.ढकालले रवि लामिछानेलाई लगाएका ८ आरोप

२६ असार २०८१, बुधबार १६:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदबाट बर्खास्त भएका डा.मुकुल ढकालले पार्टी सभापति तथा गृहमन्त्री/उपप्रधानमन्त्री रवि लामिछानेलाई विभिन्न आरोप लगाएका छन् । पार्टीले पदबाट बर्खास्त गरेसँगै आज पत्रकार सम्मेलन गरेर उनले आफ्नो कुरा राख्दै ती आरोपहरु लगाएका हुन् ।

यस्ता छन् उनले लगाएका ८ आरोप

१) विपद्को समयमा बाढी पहिरोमा समस्या भोगिरहेका जनताका समस्यालाई सम्बोधन गर्न छोडी पार्टी बैठक राखेर आफूलाई कारवाही गर्नतिर लागेको,

२) काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको क्रेज देखेर राजनीतिमा होमिएको
३) देउवाका सरकारमा जान पाइएला कि भनेर अझै पनि सरकारमै टाँसिइरहेको,
४) केन्द्रीय समिति बैठक लाइभको विपक्षमा रहन केन्द्रीय सदस्यहरुलाई आफैं अह्राएर अन्तिममा आफू भने उनीहरुकै नाम लिएर पन्छिएको
५) आफूले पटक–पटक कुरा गर्न प्रस्ताव गरेपनि लामिछाने तयार नभएको
६) आफूले गरेको गल्तीको आरोप अरुको काँधमा पुर्याएर आफू पन्छिने प्रवृत्ति भएको । जस्तै, सरकारी प्रकरणमा आफूले गल्ती गरेर जिबी राईलाई देखाएर पन्छिएको र केन्द्रीय समितिको बैठक लाइभ गर्न नमानेको आरोप केन्द्रीय सदस्यहरुतिर लगाएको,
७) पार्टीलाई क्लब जसरी चलाएको र पार्टी आज ‘रवि लामिछाने क्लब’को रुपमा परिणत भएको
८) जनताको कुरा गर्दा रवि लामिछाने क्लबले आफूलाई कारवाही गरेको

जाँदाजाँदै उनले आगामी महिना जनताको घर घरमा गएर प्रस्ताव यात्रा गर्ने बताएका छन् । त्यो प्रस्ताव यात्रा प्रत्यक्ष प्रशारणसमेत गर्ने उनको भनाई छ । त्यस्तै, उनले जनताकै कुरा सुनेपछि आफ्नो आगामी राजनीतिक यात्रा के हुन्छ भन्नेबारे निर्णय गर्ने बताउँदै सभापति लामिछानेलाई नैतिकताको यात्राका लागि शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्