Flash News

दलहरुको आज निर्णय

१२ फाल्गुन २०७९, शुक्रबार ०३:३०

काठमाडौँ। राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।

कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने अर्का एक नेताले बताए। २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेका छन् । उनले एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भनेर गरेको निर्णय गलत भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्