Flash News

माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

१२ फाल्गुन २०७९, शुक्रबार ०७:४२

काठमाडौँ। चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ।

सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्‍याएको हो।

राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो। राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन्। उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन्।

बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले दुवै पक्षबाट फरक(फरक प्रस्ताव आए पनि शुक्रबार साँझसम्म एउटै निर्णयमा पुग्ने समझदारी कायम भएको बताए। बैठकका बारेमा जानकारी दिँदै उनले भने, ुकांग्रेसले राष्ट्रपतिमा आफ्नै उम्मेदवार प्रस्ताव गरेको छ। कांग्रेसबाहेकका दलले पनि उम्मेदवारको नाम अघि सार्नु भएको छ। तर हामी एउटा टुंगोमा पुग्ने भन्ने समझदारी भएको छ तर त्यसअघि आ(आफ्ना पार्टीमा छलफल गर्छौं।’ लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि शुक्रबार साँझ बस्ने बैठकमा सहभागी गराइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्