Flash News

यि हुन् कांग्रेस कार्यसम्पादन समितिका पाँच निर्णय

१३ फाल्गुन २०७९, शनिबार ०६:५२

काठमाडौँ। नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनेसहितका पाँच निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले संविधानको धारा ६२ बमोजिम फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पौडेललाई विजयी गराउन बैठकले सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरेको छ।

यसैगरी वैशाख १० आइतबार चितवन २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि पार्टीई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ भने निर्वाचनमा पार्टीले खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

उक्त उप–निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि आवश्यक प्रक्रिया पुरा गर्न बैठकले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्