राजनीनिती

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पु¥याउनुपर्छः महासचिव पोखरेल

३२ श्रावण २०८१, शुक्रबार १५:०९

३२ साउन(२०८१),काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ ।
पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट नहुनसक्ने बताउँदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

आज नेकपा (एमाले) सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ ।

‘बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुननसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्यौलको अवस्थामा पुगेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले बङ्गलादेश घटनाको कारक आरक्षणको मुद्दामात्र पनि होइन भन्ने कुरा विस्तारै सतहमा आउन थालेको बताउनुभयो ।

विश्वशक्ति राष्ट्रको टकराव साना देशमा अस्थिरताको कारक बन्ने गरेको बताउँदै महासचिव पोखरेलले बङ्गलादेश घटना पनि त्यसरी नै प्रकट भएको विश्लेषण सुनाउनुभयो ।

महासचिव पोखरेलले सामान्य अवस्थामा एकआपसका प्रतिस्पर्धी दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मुलुकको विग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि सहमतिमा सरकार गठन गर्ने अवस्थामा पुगेको बताउनुभयो । वर्तमान सरकारले जनतामा पैदा भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्ने उहाँले स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले परिवर्तनलाई सुरक्षित गर्दै र समावेशिता कायम राख्दै स्थायित्वको आधार खोज्नुपर्ने हुँदा त्यसका लागि सुझाव दिन विभागलाई आग्रह गर्नुभयो । उहाँले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितिमा भएको बैठकमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको विदाई र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईलाई माइन्युट हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्