राजनीनिती

राजनीतिक अस्थिरता मुलुकको लागि चुनौती-शंकर पोखरेल

२६ आश्विन २०८१, शनिबार २२:५६

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका बताउनु भएकाे छ । बडादसैँको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले नेपाल संस्कृतिमा अत्यन्त धनी रहेको बताउनु भएकाे छ ।

‘‘नेपालका मौलिक सांस्कृतिक पर्वहरूले नै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्, वीर नेपालीको भूमिका रूपमा परिचित नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न राष्ट्रका रूपमा बुझ्ने गर्दछौं’‘, उहाँले भन्नु भयाे ।

पछिल्ला दिनहरूमा नेपालको मौलिक संस्कृतिमाथि विभिन्न कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नु भएकाे छ । नेपालको संस्कृति मूल्य र मान्यताको विगठन हुने क्रम बढेको उहाँले बताउनु भयाे । ‘‘चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ’‘, पोखरेलको शुभकामना सन्देशमा भनिएको छ ।

समाजमा रहेका विकारलाई अन्त्य गरेर मुलुकलाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउनुपर्नेमा पोखरेलले जोड दिनु भयाे । राजनीतिक परिवर्तन पछाडि मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बेलामा नेपालको राजनीति अलमलिएको अवस्थामा रहेको उहाँको धारणा छ । ‘‘राजनीति अस्थिरता चुनौती बनिरहेको छ, राजनीतिमा पनि शक्तिलाई सुदृढ गर्नुपर्ने, बलिया शक्तिका माध्यमबाट शासन व्यवस्था अगाडि बढाउनुपर्ने आवश्यकता छ’‘, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रिय राजनीतिमा बलिया राजनीतिक शक्तिलाई स्थापित गर्ने अठोट गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नु भयाे । हाम्रा सांस्कृतिक पर्व यही अठोटका साथ मनाउनु पर्नेमा पोखरेलले जोड दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्