Flash News

रास्वपाको चुनाव चिह्न घन्टीमा रहेको गोलाकार घेरा हट्यो

१७ फाल्गुन २०७९, बुधबार ०७:२९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न फेरिएको छ। यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गरे। उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ।’निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ। रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो।

उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो। तर चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टी सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादका कारण सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्