Flash News

प्रदेश १ को नाम कोशी

१८ फाल्गुन २०७९, बिहीबार ०२:३३

काठमाडौँ। बुधबार प्रदेश १ को प्रदेश सभा बैठकले प्रदेशको (कोशी प्रदेश) नामकरण गरेको छ। साथै प्रदेशको नामाकरण गरिएको अवसरमा बिहिबार सार्वजनिक बिदासमेत दिएको छ।

नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश १ को नाम कोशी राख्ने पक्षमा एकमत देखिए भने लिम्बुवान–किरात प्रदेश राख्नुपर्छ भन्नेहरू अल्पमतमा परेका छन्। लामो समयदेखि पहिचानमा आधारित प्रदेश नामकरणको पक्षमा उभिँदै आएको नेकपा माओवादी केन्द्रले भने एमालेले प्रस्तुत गरेको प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय गर्‍यो।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने आफ्नो एजेन्डाको झण्डा अन्तिमसम्म उचाले। प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसदमा बोल्दाबोल्दै भक्कानिइन्।

मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्