काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र(सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थमन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तः शुल्क छाप्न निर्देशन दिएकी हुन् ।
एक चरणको परिणाम आयो भने बाकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन् । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताइन् । यो केन्द्रबाट सुरुमा अन्तः शुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समय पछि बैंक नोट छाप्ने योजना रहेको छ ।
केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए। अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ। प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिकरूपमा बाहिरिने रु १० अर्ब जोगिने सरकारको अपेक्षा छ।