Flash News

पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने भयो: प्रचण्ड

२१ फाल्गुन २०७९, आईतवार १२:०७

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएका छन्।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार काठमाडौँको प्रभा भवनस्थित कमलादीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रूपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो। जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो।’

आफू नेतृत्वको सरकारले जगडोलमा शहीद पार्क बनाउने तथा शहीदहरुको नाम राजपत्रमा समावेश गर्ने निर्णयलाई उनले ठूलो परिघटना भने।

‘माओवादी आन्दोलन प्रभाव कमजोर भएर होइन। माओवादीका सबै धारहरु एकठाउँ हुँदा जबर्जस्त बल छ भनेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेका छन्’ प्रचण्डले भने, ‘माओवादी धार सबै एक ठाउँमा भएर लाखौं जनता उतार्ने हो भने माओवादीले फेरि विजयको यात्रा सुरु गर्न सक्छ।’

प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै पूर्व माओवादीहरु एकठाउँमा आउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्