Flash News

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा

२३ फाल्गुन २०७९, मंगलवार ०४:५०

काठमाडौँ। पूर्वमाओवादी धारका नेताहररूको संयुक्त बैठक बालुटारमा सुरू भएको छ।

शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको स्रोतले जानकारी दिएको छ। बिहान साढे ८ बजे तय गरिएको बैठकमा केही नेताहरूको आगमन ढिलो गरि भएका कारण बैठक केही सयम पर सरेको थियो।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुती बैठकमा उपस्थित छन्।

यसअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए। माओवादी धारका नेताहरुबीच सकेसम्म पार्टी एकता र त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्ने पहल गर्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको आजको बैठकमा पनि त्यसैबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरुबीच छलफल बाक्लो हुँदै गएको छ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहोस्