Flash News

जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने

३० फाल्गुन २०७९, मंगलवार ०३:२६

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ।

फागुन २७/२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो। उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

यही अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ।

नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए।

परिषद्को बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको तात्कालिक राजनैतिक प्रस्ताव पारित गरेको छ। तात्कालिक राजनैतिक प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध संघर्ष गर्ने क्रममा प्रतिगमनविरुद्ध आउने सबै शक्तिहरुसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ। यसैगरी चैत २८ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ।

२०८० साल बैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय गरेको जनमोर्चाले असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने छ।

जनमोर्चाले गत पुस १० गते बनेको राजनीतिक समीकरणलाई भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उनलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ।

राष्ट्रियताको सवालमा कांग्रेस, माओवादी, मधेसवादी तथा एमाले विपक्षमा रहेका तर एमाले राष्ट्रियताका साथै गणतन्त्रका विरुद्ध पनि रहेको जनमोर्चाले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्