Flash News

रामसहायलाई साझा उम्मेदवार बनाउने प्रयास

१ चैत्र २०७९, बुधबार १३:३२

काठमाडौँ। उपराष्ट्रपतिमा एक मात्र उम्मेदवार तय गर्न सत्ता गठबन्धनका चार दल सक्रिय भएका छन्। सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि मतदाताहरु अन्योलमा देखिएका छन्।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिका लागि उम्मेदवार उठाएका छन्। जसपा र जनमत गठबन्धनमध्येकै दुई दल हुन्। जनमत र जसपाले आ–आफ्नो उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन्। यसले गठबन्धनमै रहेका मतदाताहरूमा अन्योल देखिएका छन्।

गठबन्धन दलमध्ये कांग्रेसले बुधबार उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई नै सहयोग गर्ने निर्णय गरिसकेको छ भने अन्य दलको आधिकारिक कुरा आएको छैन। यद्यपि जसपाका उम्मेदवार रामसहायको प्रस्तावक र समर्थकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरु बसेका छन्। यति हुँदा हुँदै पनि दलहरु गठबन्धनको निर्णयको पर्खाइमा छन्।

लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतका उम्मेदवार ममता झाको समर्थक र प्रस्तावकमा बसेपनि गठबन्धनको आधिकारिक निर्णयको पर्खाइमा छ । गठबन्धनको बैठक बुधबार साँझ बालुवाटारमा बसिरहेको छ। तर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा कुनै अन्योल नरहेको बताए। उनले भने, ‘उपराष्ट्रको साझा उम्मेदवार बनाउनका लागि आन्तरिक रुपमा दलहरुको बीचमा छलफल भइरहेको छ  ।  गठबन्धनको बैठकबाट पनि आवश्यक निर्णय हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिका पुरुष उम्मेदवारलाई मत नदिने भनिसकेको छ। गठबन्धनभित्र पनि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवार उठाएको हुनाले गठबन्धनबाट साझा उम्मेदवार बनाउन चार दलबीच छलफल सुरु भएको काँग्रेसका महामन्त्री गगन थापाले बताए । चार दलले गठबन्धनमा साझा उम्मेदवार बनाउन गृहकार्य गरिरहेको उनले बताए। सत्ता गठबन्धनका एक घटक दल एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहाय यादव हुने बताए।

प्रतिक्रिया दिनुहोस्