Flash News

पत्रकारहरू बिक्रीमा छन्: सभामुख घिमिरे

३ चैत्र २०७९, शुक्रबार १४:१३

काठमाडौँ। सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन्’ घिमिरेले अगाडि भनेका छन्, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ पत्रकारहरुकै बीचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले रोकि राख्नुपर्दैन।’

आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले पत्रकारहरुसित आग्रह पनि गरेका छन् । ‘यो (आफ्नो गम्भीर आरोप) भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि ।’ उनले भने ।

ठूला मिडिया हाउसहरुले प्रभावित पारेको, थर्काएर, किनेर अनेक ढंगबाट प्रभावित गरेको उनको आरोप छ । यसको प्रभाव समाजमा परेको उनको भनाइ छ ।

यस्तो कार्यबाट मुक्त भएर सरकार र पत्रकारहरुबीचको कसरी सम्बन्ध राम्रो बनाएर लाने भनेर सोच्नुपर्ने उनको आग्रह छ । ऐन ल्याउँदा र त्यसको कार्यान्वयन गर्दा, विनियमहरु बनाउँदासमेत पत्रकार र सरकारका बीचमा सम्बन्ध राम्रो हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्