मेरो करियरमा ‘अन्जिला’ ११औं फिल्म हो । धेरै जनाले सबैभन्दा राम्रो फिल्म भन्नुभएको छ । तर यस्तो प्रतिक्रियाले चलचित्रको व्यापार निर्धारण गर्दैन् । चलचित्र आफंैले भाग्य लिएर आएको हुनुपर्छ । नेपालमा कतिपय अपेक्षा नगरेका चलचित्रहरुले एकदमै राम्रो व्यापार गरिरहेका छन् । अपेक्षा गरेकाले व्यापार नगरेको अवस्था पनि छ । त्यसैले यसै भन्न सक्ने अवस्था छैन् ।
बायोपिक फिल्म चल्नुपर्छ, भावी पुस्तालाई प्रोत्साहन हुन्छ ,
नेपाली सिनेमालाई विश्व बजारमा चिनाउने प्रयास निरन्तर जारी छ ,
फिल्म राम्रो छ भनेर मात्र व्यापार निर्धारण हुँदैन् ,
यतिबेला नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यही फागुन २९ गते होलीको दिनदेखि हलमा प्रदर्शन हुने भएकाले त्यसकै दौडधुप चलिरहेको छ । वायोपिकमा आधारित यो मेरो तेस्रो चलचित्र हो । भर्खरै धरान र काठमाडौंमा यसको प्रिमियर पनि गरेका छौं । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ ।
वायोपिक भन्ने वित्तिकै कुनै न कुनै प्रभावशाली व्यक्ति जसले देशमा केही न केही छाप छोडेको छ, त्यस्तो व्यक्तिहरुको नै वायोपिक बन्ने गर्दछ । त्यहाँबाट पनि थाहा हुन्छ यसमा केही न केही त सन्देश छ । एउटा खेलाडीको चलचित्र भएका कारणले नेपालमा पहिलोपटक फुटबल खेलाडीको वायोपिक तयार भएको हो । जुन एकदमै जोखिमपूर्ण हुन्छ । पहिलो कुरा वायोपिक चलचित्र बनाउँदा नै जोखिमका क्षेत्रहरु धेरै हुन्छन् । चलाउन एकदमै गार्यो हुन्छ । लगानी सुनिश्चित नहुने धेरै सम्भावना हुन्छ । मानिसहरु धेरै वायोपिक चलचित्रमा लालाहित हुँदैन् । तर पनि हामीले हिम्मत गरेका छौं ।
विशेषगरी निर्माता प्रेम कुमार श्रेष्ठ खेललाई एकदमै माया गर्नुहुन्छ । त्यसैले खेलका लागि पनि केही गर्नुपर्छ भनेर र सरकालाई पनि चलचित्रको माध्यमबाट नेपाली खेलाडीहरुको अवस्था यो छ है भन्ने जानकारी दिनपनि यो अर्थपूर्ण मानिन्छ । वास्तवमा यो चलचित्र एन्जिलाको संघर्षको कथा हो । संघर्षबिनाको सफलता हामीले नसोचेपनि हुन्छ । यसले चाँही प्रेरणा दिन्छ सबैलाई । चलचित्र एउटा यस्तो माध्यम हो, जसले भिडियोको माध्यमबाट सारा संसारलाई जानकारी दिन्छ । भिडियोमा यतिबेला हाम्रो कथा भन्न सकेका छौं । मूल सन्देश खेलसम्बन्धि र दोस्रो जीवनको भोगाई हो । यसले केही न केही सिक्ने मौका दिएको छ ।
जहाँ जहाँ प्रिमियर गर्यौं प्रतिक्रिया राम्रो आएको छ । पहिलो पटक हङ्कङमा प्रिमियर गर्यौं, दोस्रो पटक युकेमा, तेस्रो कोरियामा र चौंथो धरानमा गरेका हौं । सबै किसिमका दर्शकलाई राम्रो प्रतिक्रिया आएको छ । व्यक्तिगत रुपमा मेरो करियरमा ‘अन्जिला’ ११औं फिल्म हो । धेरै जनाले सबैभन्दा राम्रो फिल्म भन्नुभएको छ । तर यस्तो प्रतिक्रियाले चलचित्रको व्यापार निर्धारण गर्दैन् । चलचित्र आफंैले भाग्य लिएर आएको हुनुपर्छ । नेपालमा कतिपय अपेक्षा नगरेका चलचित्रहरुले एकदमै राम्रो व्यापार गरिरहेका छन् । अपेक्षा गरेकाले व्यापार नगरेको अवस्था पनि छ । त्यस हिसाबले यसै भन्न सकिन्न । तर नेपाली जनताको खेलकुदप्रतिको जुन मोह छ, त्यसले चाँही दर्शकलाई हलसम्म जाने वातावण बनाउछ भन्ने आशा गरेको छु ।
चलचित्रकर्मी भएपछि आफ्नो दायित्व पनि हो । यस्तो खालको चलचित्र र कथाहरु समाजमा देखाउनुपर्छ ।यसलाई दायित्वका रुपमा लिनुपर्छ । प्रमुख कुरा त आर्थिक नै हो । किनकी अहिले साधारण एउटा राम्रो चलचित्र बनाउन दुईतीन करोड खर्च हुन्छ । पक्कैपनि एकजना निर्देशकलाई लगानीकर्ताको खाँचो अनिवार्य आवश्यक्ता हो । प्रेमजीले मलाई निर्देशकको रुपमा प्रस्ताव पनि गर्नुभयो, त्यहीमाथि खेलमा मलाई रुची पनि छ । खेलाडीहरुलाई उच्च सम्मान गर्छु । त्यसैले पनि यो त गर्नुपर्छ ,राम्रो अवसर हो भनेरपनि यसमा हात हालेको हुँ ।
नेपाली फिल्मलाई विश्वबजारमा
चलचित्र क्षेत्रमा दिग्गज व्यक्तिहरुले आफ्नो तर्फबाट लिड गर्ने प्रयास जहिले पनि गरिनै रहनु भएको थियो । हाम्रो पुस्ताको जतिपनि कलाकारकर्मीहरु छौ । हामीभन्दा पछाडिका पनि छन् । उहाँहरुले पनि पक्कै राम्रै गर्छु भनेर नै हिडिराख्नु भएको होला । मैले आफ्नो तर्फबाट नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउनका लागि कोशिस गरिरहेको छु । बिदेशमा सुटिङ गरेका मेरा धेरै चलचित्रले सफलता पनि हासिल गरेका छन् । ‘गोर्खा वारियर’ वेलायतको सिनेवल्र्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुने पहिलो नेपाली फिल्म बन्नु मेरा लागि मात्र नभइ विश्वभरका लागि नौलो सन्देश थियो ।
सिनेमा मेकिङ एकतिर रहेपनि प्रिमियर अर्को महत्वपूर्ण पार्टका रुपमा लिएको छु । आफ्नो देशलाई वा नेपाली चलचित्रलाई चिनाउनको लागि विभिन्न ठाउँमा प्रिमियर गर्दै आएको छु । राम्रो चलचित्र बनाउने र विश्व बजारमा चिनाउने प्रयास निरन्तर जारी राखेको छु । अहिले नेपाली सिनेमा धेरै राम्रो हुँदै पनि गइरहेको छ । त्यो सँगसँगे धेरै चुनौती पनि छन् । अहिले चलचित्र मेकिङ पहिलाजस्तो सानो पैसामा बन्छ भनेर नसोचे पनि हुन्छ । टेक्निसियनको खर्च उत्तिकै मंहगो छ । पहिला लाइटहरु एकदम सस्तोमा चलाउथ्यौं, अहिले डिजिटलाइज भएर लाइटहरु महंगिएको छ । एक हजार पर्ने लाइट अहिले १५ हजार, मेकअप आर्टिस्ट पहिला पाँच सयमा हायर गर्दथ्यौं, अहिले राम्रो मेकअप आर्टिस्ट हायर गर्दा १८ देखि २० हजार लाग्छ । मंहगी बढेको छ ।
समयअनुसार महंगाई बढ्यो क्वालिटी पनि बढेको छ । अहिले हेर्ने हो भने चलचित्र यति धेरै बनिएको छ कि यो वर्ष मात्रै अघिल्ले वर्ष चलचित्र जति रिलिज भएको थियो त्यसको दोब्बरभन्दा बढि रिलिज हुँदैछ । प्रतिस्पर्धा बढेको छ, एकैचोटी चलचित्र धेरै रिलिज हुने भएपछि प्रतिस्पर्धा बढ्ने नै भयो । अन्जिला रिलिज हुने बेला अरु तीनवटा रिलिज हुँदै छन् । प्रतिस्पर्धा हुँदा हल नि बाँडफाँड हुन्छ । त्यसले दर्शकको मुडलाई निर्धारण गर्ने गर्छ ।
ड्रिम प्रोजेक्ट ‘सुन्निमा’
नयाँ आउन लागेको मेरो चलचित्र सुम्निमा युकेमा सुटिङ गर्दैछु । यो पूरै लभ स्टोरी फिल्म हो । घोषणा भइसकेको छ । जुलाई अगष्टमा नेपाल र युकेमा सुटिङ हुन्छ । व्यक्तिगत रुपमा भन्नुपर्दा गोर्खा वारीयर नेपाली सिनेमा क्षेत्रको एकदमै ठूलो उपलब्धी मान्नुपर्छ । किन त्यो जुन ठाउँमा प्रिमियर भयो त्यो ठाउँमा जो कोहीले गर्न सक्दैन् ।
इतिहास पल्टाएर हेर्ने हो भने बलिउडको पनि ‘लाइफ इन मेट्रो’ भन्ने फिल्मको प्रिमियर भएको थियो । त्यो पनि फिल्म बनाउनेहरु ब्रिटिस भएको हुनाले । विगत २० वर्षदेखि वेलायतको सिनेवल्र्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर गर्छु भन्ने सपना थियो । सकेको थिइँन् । पहिलो कुरा खर्चालु हुने र दोस्रो कुरा सिस्टममा जानको लागि नै जोकोहीले सक्दैनन् । युके भन्ने वित्तिकै हेन्थ एण्ड सेफ्टीको कुरा आउँछ । सिस्टमका कुरा हुन्छ । त्यो प्रिमियरलाई मैंले उपलब्धीको रुपमा किन लिएको छु ।
जुन ठाँउमा हलिउडका ठूला ठूला स्टारको मात्र प्रिमियर हुने गर्दछ । हामीले पनि त्यही नै देखेको हो । नेपाली फिल्मलाई त्यहाँ लाने जुन सपना देखे त्यो सपना पूरा भयो । पहिलो कुरा बेलायतको तत्कालिन प्रधानमन्त्रीले चलचित्रलाई शुभकामना सन्देश त्यो पनि पत्र काटेर पठाउनु भनेको एउटा नेपाली सिनेमा बनाउने व्यक्तिको लागि सामान्य कुरा होईन् ।
हामी सानो ठाँउबाट गएको, अर्को कुरा प्रिमियरमा हलिउडका ठूला ठूला हस्तीहरु भीभीआइपी, मुख्य अथितिका रुपमा माथिल्लो सदनको प्रेसिडेन्ट लड माइकल हवार्ड हुनुहुन्थ्यो । ब्रिटेनलाई चलाउने व्यक्तिहरुको उपस्थिती थियो । त्यो बाहेक हाम्रो समूदायका पनि एकदमै नाम चलेका व्यक्तित्वहरु आउनु भएको थियो । त्यो अहिले सम्झिने हो भने सपना जस्तो लाग्छ ।
त्यो बेलाको कुरा सम्झिनुपर्दा काउन्सिलको सपोर्ट थियो । त्यो क्षणलाई सम्झिदा एकदमै गर्व महशुस हुन्छ । नेपाली चलचित्रको लागि पनि त्यो एकदमै ठूलो कुरा थियो । करिब तीन सय वटाभन्दा बढि इन्टरनेशनल मिडियाले कभर गरिदिनु भएको थियो । एकदमै ठूला अखबारमा पनि अन्तर्वार्ता दिने मौका पाएको थिए । एउटा सिनेमा बनाउने मान्छे त्यो ठाँउमा गएर त्यती ठूलो ठाँउ पाउनु भनेको एकदमै ठूलो कुरा हो ।
नेपालमा भने सोचेको जस्ता सफलता पाउन सकिएन् । जुन अपेक्षा गरिएको थियो त्यो भएन । यसको मुख्य कारण के हो भन्दा युद्ध सम्बन्धी फिल्महरु बाहिरतिर धेरै नै चल्छन । तर नेपालल कसैको उपनिवेश हुनु नपरेको र युद्धमा सामेल हुन नपरेकाले नेपालमा खासै उपलब्धि हासिल गर्न सकिएन् । यद्यपी, हेरेको जति सबैले मन पराउनु भएको छ । तर हिस्ट्रोरिकल फिल्म सबैलाई मन पर्छ भन्ने हुदैँन् । अलिकति पृथक थियो, त्यो हिसाबले नेपालमा अपेक्षा गरे अनुसार भएन । तथापी बाहिरबाट जुन खालको प्रतिक्रियाहरु आयो, जुन तरिकाले मन पराउनु भयो त्यो नै नेपाली सिनेमाको लागि ठूलो कुरा हो ।
विश्वले कस्तो फिल्म खोज्छ ?
पहिलो कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिनेमा लाने हो भने गोर्खाली, भगवान गौतमबुद्ध, शेर्पा, सगरमाथालगायतका विषयमा सिनेमा बनाउनुपर्छ । यी भनेका ठूला ब्राण्ड हुन् । नेपालीले बनाएको अथवा नेपालसँग सम्बन्धित ब्राण्ड हो । तर अन्य विषयमा झट्टै गइहाल्न गा¥हो छ । विश्वबजारमा यति धेरै सिनेमाहरु बन्छन्, त्यो बजारमा प्रतिस्पर्धा गर्नको लागि पहिलो कुरा हाम्रो कथा लानैपर्छ । हाम्रो कथामा पनि विश्वब्राण्डका महत्व भएको कुरा हुनुपर्छ जसले विश्वको ध्यान तान्न सकोस । यो तरिकाले जाने हो भने नेपाली सिनेमाको सम्भावना धेरै छ ।
तर चुनौती भनेको फेरि नै लगानी हो । लगानीमा सरकारले सहजीकरण गरिदिनुपर्छ । विश्वबजारमा गइहाल्न फेस्टिबलहरुले मात्र पर्याप्त होइन् । किनभने फेस्टिबलहरुमा ठूला ठूला बजेटका सिनेमाहरु गएको देखिदैँन् । ठूला ठूला स्टार फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिसकेको हुन्छ । फेस्टिबलमा जाने वित्तिकै पैसा आउने होइन् । विभिन्न वहानामा उल्टै पैसा बुझाउदा बुझाउदा हैरान हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय बजार जाने हो भने पहिला ब्राण्ड समात्नुपर्छ अनि कथामा ध्यान दिनुपर्छ । सरकारले पनि नेपाली सिनेमालाई बुझ्न पर्यो ।
युकेको टेक्निसियनहरुको प्रयोगको आधारमा सरकारले पैसा दिन्छ । इन्डियामा साउथ मुभीहरुलाई मान्यता दिइदैन । तर सबसिटी दिन थालेपछि बलिउड सिनेमा फरक गतिमा अघि बढ्न थाल्यो । साना देशहरुले पनि सबसिटी दिने गरेको छ तर हाम्रो नेपालमा अझै बुझाइमै समस्या छ । धन्न नेपाली सिनेमा मेकरहरुले सिनेमा बनाइरहेका छन् । सरकारको यसमा ध्यान जाने हो भने नेपाली सिनेमाको स्तर पनि बढ्थ्यो नेपाल पनि प्रमोट हुन्थ्यो । उदाहरणको लागि मनाङ, मुस्ताङ, पोखरा फेमस भएको चलचित्र र गीतहरुले हो । त्यहा सुटिङ हुन थालेको ५० औ वर्ष भइसक्यो । खासमा सरकारले गर्नुपर्ने कामहरु प्रशस्त देखिरहेको छु।
पारिश्रमिक र शो को सवाल
चलचित्रमा पारिश्रमिकको वहस अहिलेपनि जारी छ । पुरुषहरुको तुलनामा महिलाहरुले कम पारिश्रमिक पाए भन्ने गुनासो छ । यो संसारमा जहापनि पुरुषको तुलनामा महिलाहरुको पारिश्रमिक कम भएको पाइन्छ । सिनेमामा स्टार भ्यालुले मापन गर्छ । कसको सिनेमा चल्छ, कसको अनुहारलाई रुचाइन्छ भन्ने विषय प्राथमिकतामा पर्छ । नारी प्रधान, पुरुष प्रधान चलचित्र हुन्छ । अधिकाशंमा महिला भन्दा पुरुष स्टार भएको देखिन्छ । मेरो चलचित्रमा प्राय त्यस्तो हुँदैन । मेरो चलचित्र सुम्निमामा नायिकाले बढि पारिश्रमिक पाउने सम्भावना छ । समग्रमा हेर्दा बलिउड, हलिउडहरुमा पनि नायिकाहरुले कम पाएको देखिन्छ ।
नेपालमा नेपाली चलचित्र चलाउन पनि शो नपाउने हुन्छ । यसमा हामीहरु बलिउड, हलिउडबाट (डोमिनेट) पेलिएर पछाडि परेका छौ । हल सञ्चालकको हल चलाउने व्यापार हो । त्यो उहाँहरुले आफ्नो स्वामित्वमा बनाएका हल हो । पैसा आउने ठाँउमा मेरो देशको सिनेमा हो भन्ने हलवालाले सोच्दैन् । उसले व्यापारलाई हेर्छ हल सञ्चालकहरुको पनि आफ्नै समस्याहरु छन् । प्राथमिकता हलिउड बलिउडलाई नै दिने गर्छन । यसलाई मैंले व्यापारका रुपमा बुझेको छु । उसले त नाफा हेर्छ, नाफामा न राष्ट्रियता जोडिन्छ न आफ्नोपन । अपनत्व हुँदैन ।
विभिन्न चलचित्र संघहरु छन् । चलचित्र संघबाट हामीले आधिकारिकता नपाइकन चलचित्र चलाउन पाइँदैन । वितरणकको थ्रुबाट जानुपर्ने हुन्छ । यसमा मेरो धारणा के भने सबै हलहरु निजी भएपनि व्यापारी दृष्टिकोणबाट सोच्नु राम्रो मानिदैन् । नेपाली सिनेमाको विकासको लागि नेपाली दर्शकलाई नेपाली चलचित्र हेर्न बानी बनाउनुपर्ने अवस्था छ । कोटा सिस्टम लागु गर्नुपर्छ । २५ प्रतिशत हिन्दी, २५ प्रतिशत अङग्रेजी र ५० प्रतिशत नेपाली राख्यो भने त नेपाली सिनेमाले बढि ठाँउ पाउँछ ।
अन्जिलाले सबैको मन छुन्छ
अञ्जिला हामीले ठुलो आट र संघर्षले बनाएको सिनेमा हो । अञ्जिलाले हरेक व्यक्तिको मन छुन्छ । निर्देशकको आँखाबाट भन्दापनि दर्शक भएर बोल्नुपर्दा सिनेमा राम्रो बनेको छ । नेपालमा यस्तै पृथक र बायोपिक चलचित्र र राज्य र जनताले विर्सेका व्यक्तिहरुको चलचित्र बनाउने हो भने अञ्जिला चल्नुपर्छ । यो चल्यो भने महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्छ । किनभने यो चलेको खण्डमा अरु निर्माताहरु पनि यस्ता चलचित्र बनाउन लालाहित हुन्छन् । भोलिको दिनमा बैकुण्ठ मानन्धर, साम्बा अर्थात सावित्रा भण्डारीको पनि राम्रो बायोपिक बन्न सक्छ । प्रिती राई, रेखा पौडेलको बन्न सक्छ । यो भावी पुस्ताको लागि डकुमेन्ट हो ।
एञ्जिलालाई यो चलचित्रमा लिन सुरुमा गार्हो भएको थियो । एउटा फुटबलरले पनि फिल्ममा अभिनय गर्न सक्छ र भन्ने सोच मान्छेमा हुन्छ । तर अभिनय भनेको जीवनको भोगाई हो । एञ्जिलालाई आफ्नै भुमिकामा अभिनय गर्नुपरेको भएर मलाई लाग्छ अप्ठेरो थिएन् । हामीले सजिलो तरिका अपनायौं । यसले सबैको मन जित्नेछ । (नेपाली फिल्म निर्माता एवम निर्देशक मिलन चाम्ससँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)