Flash News

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित

५ चैत्र २०७९, आईतवार ०८:२५

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ। आइतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको बताए । उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।

उनले भने, ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ । यो सर्वसम्मत निर्णय हो । पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ । केन्द्रीय सचिवालय सदस्यको संख्या १९ गरिएको छ ।’

बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्