Flash News

‘पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने थिएन’

१० चैत्र २०७९, शुक्रबार १४:४४

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै बनाउन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको अर्थयोजना विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अगाडि निजगढ बनाउनुपर्ने धारणा राखेका हुन् । पोखरा र गौतमबुद्ध विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए ।

‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो’ उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताए । ‘हामीले आवश्यकताको प्राथमिकीकरण पनि गर्दैनौं । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दशवटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनैपनि कुरामा दूरगामी सोचहरु पनि छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्