Flash News

आर्थिक संकट समाधान गर्न सबै दल मिल्नुपर्छ: विष्णु पौडेल

११ चैत्र २०७९, शनिबार १२:०९

बुटवल। पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन्।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताए। पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गरे । ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन’,पौडेलले भने, ‘२०२४र२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ।’

मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने पौडेलले आग्रह गरे।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए। कार्यविधि स्वीकृत नहुंदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको ४० अर्ब बढी लगानीले उचित प्रतिफल पाउन नसकेको र व्यवसायी निराश भएको पौडेलले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्