राजनीनिती

६७ सय ४३ वडाका युवा काठमाडौंमा उतार्दै एमाले

८ बैशाख २०८२, सोमबार १३:०९

काठमाडौँ । नेकपा (एमाले) तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसमा देशभरीका युवाहरु काठमाडौंमा उतार्ने तयारी गरेको छ । ‘युथ सेलिब्रेसन’को नाम दिइएको कार्यक्रममा एमालेले ६७ सय ४३ वडाबाट युवाहरु ल्याउने गरी आन्तरिक सर्कुलर गरेको छ ।

पहाडी क्षेत्रका हरेक वडाहरुबाट कम्तीमा चार जना युवा काठमाडौं पठाउन जिल्ला कमिटीहरुलाई एमालेले निर्देशन गरेको छ । यसैगरी जिल्ला र प्रदेश कमिटीमा भएका ४० वर्ष मुनिका सदस्यहरू सबैलाई अनिवार्य उपस्थीतिको लागि निर्देशन दिइएको छ । ती युवाहरूलाई काठमाडौंसम्म ल्याउने र लैजाने कार्यको संयोजन पार्टी जिल्ला अध्यक्षहरूले गर्दैछन् ।

स्थानीय जनप्रतिनिधिमा मेयर, उपमेयर,पालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष सबै,बाग्मती प्रदेशको हकमा २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उम्मेदवार रहेका सबैलाई अनिवार्य सहभागिताको लागि एमालेले सर्कुलर जारी गरेको छ ।

जनसंगठनहरूका केन्द्रीय कमिटी सदस्यहरू, महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरू सबै, सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्ष मुनिका सबैलाई सेलेब्रेसनमा सहभागी गराउनुपर्ने छ । कतिपय वडामा तोकिएको युवा संख्या नपुगे सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिने तर तोकिएको कूल संख्यामा घटाउन नपाइने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्