सन्तोषी रावल, बैशाख,११ ।
बाजुराको तल्लो भेग, जहाँ पहाडहरू सुस्तरी ओर्लंदै रमाइला गाउँहरूमा मिल्दछन्, त्यहीँ कतै छ डाबदेखि बल्देसम्म फैलिएको साँफे–मार्तडी सडकखण्ड । यही सडक, जो एकातिर विकासको बाटो हो, अर्कोतिर बाजुराली जनजीवनको प्रतिविम्ब पनि हो । यहाँका स्थानीयको जीवनशैली, परम्परा, र आवश्यकता यति गहिरोसँग सडकसँग गाँसिएको छ कि सडक नै कहिलेकाहीँ खेत बनेर उभिन्छ ।
यो कथा हो त्यही गाउँको, जहाँ किसानहरू खेतबाट गहुँ टिपेर सिधै सडकमा ल्याउँछन्, बिचमा बिछ्याउँछन् । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका लागि यो सामान्य अभ्यास हो । कारण पनि चाखलाग्दो छ—सडकमा गुड्ने गाडीका पाङ्ग्राले गहुँका वाला च्यापेर दाना छुट्याउने काम गर्छ । मेहनत बचत हुन्छ । समय पनि ।
तर सजिलो उपाय सधैं सबैभन्दा सही उपाय हुँदैन । यही सहजताले अहिले समस्याको रूप लिएको छ । स्थानीयले सडककै बीचमा गहुँ, जौं, मकैजस्ता अन्नबाली सुकाउने र चुट्ने गरेका छन ्। गाडी आउँदा–जाँदा ती अन्नबीचबाट गुड्नुपर्छ । यस्तो अवस्थामा दुर्घटनाको जोखिम निकै बढेको छ ।
सडकमा गहुँ सुकाउने यो अभ्यासले परम्परागत भाँडखलो प्रणालीलाई विस्थापित गरिरहेको छ । पहिले घरको आँगन वा खेतको एक कुनोमा भाँडखलो बनाइन्थ्यो—जहाँ पिँढी, मर्की, र छरपस्ट घाम सँगै पसिनाको सुगन्ध मिसिन्थ्यो । तर अब त्यो दृश्य विरलै देखिन्छ । के समाज सजिलोका नाममा अल्छी बन्दैछ त ? भन्ने प्रश्न उठ्न थालेको छ ।
प्रहरीले सडकमा गहुँ राख्न निषेध गर्दा स्थानीय आक्रोशित हुन्छन ्। किनभने उनीहरूका लागि यो केवल गहुँ सुकाउने कुरा होइन—यो उनीहरूको जिन्दगीको अंश हो । तर यातायात व्यवसायी र सुरक्षा निकायका लागि यो चिन्ताको विषय बनेको छ ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको भनाइ अनुसार, पटक–पटक नियमन प्रयास गर्दा पनि स्थानीयले बेवास्ता गरेका छन्। स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिँदै, आधुनिक प्रविधि जस्तै थ्रेसर मेसिनको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।
यसैबीच, बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले समस्याको गाम्भीर्य बुझ्दै आवश्यक उपायहरू अवलम्बन भइरहेको जानकारी दिएका छन्। स्थानीय स्तरमा थ्रेसिङ सेन्टर बनाउने, गहुँ सुकाउने ठाउँ छुट्याउने, जनचेतना अभिवृद्धि गर्ने जस्ता उपायहरू विचाराधीन छन्।
सडकमा गहुँ सुकाउने दृश्य केवल परम्पराको प्रतिनिधि मात्र होइन, विकास र परम्पराबीचको संघर्षको प्रतीक पनि हो । यदि समयमै समाधान खोजिएन भने, यो केवल खेत–सडकको द्वन्द्व रहने छैन, जन–जीवनको सुरक्षामाथि ठुलो संकट बन्न सक्छ ।