समाज

सामाजिक परम्परा र अन्धविश्वासका नाममा एक युवाको ज्यान गयो

१३ बैशाख २०८२, शनिबार ०८:००

सन्तोषी रावल
बाजुरा, वैशाख १३ – बाजुराको बुढीगंगा नदीमा पितृ कार्यको क्रममा एक युवाले ज्यान गुमाएका छन् । धार्मिक आस्थाको गहिरो प्रभाव र अन्धविश्वासका कारण खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर शुक्रवार मृत्यु भएको हो ।

घटना त्रिवेणी नगरपालिका–८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा घटेको हो, जहाँ उनी आफन्तहरूसँग पितृ कार्य गर्न आएका थिए । वर्ष ३२ की अञ्जली नेपाली ‘पितृ आए’ भन्ने भनाइमा विश्वास गर्दै नदीमा हामफालेकी थिइन्। देवता पसेको र पुतली ल्याउनुपर्छ भन्ने सामाजिक मान्यताले उनलाई यस्तो निर्णय गर्न बाध्य पारेको बुझिएको छ। अञ्जलीलाई बगाएर नदीले लगेपछि उनलाई बचाउन नदीमा पसेका गणेश नेपालीको भने डुबेर ज्यान गएको हो ।

घटनामा संलग्न अर्का व्यक्ति वर्ष २७ का दीपक नेपाली गम्भीर घाइते छन् भने अञ्जली नेपाली पनि घाइते अवस्थामा छन ्। मृतक गणेशलाई उद्धार गरी अछामको बयालपाटा अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
परम्परा कि अन्धविश्वास ?
पितृ कार्य, देवता पूजाका नाममा हुने यस्ता घटना समाजमा गहिरो रूपमा जरा गाडेर बसेका परम्पराका उदाहरण हुन्। सदियौंदेखि चलिआएको धार्मिक संस्कार र कथित ‘देवता पस्ने’ परम्पराले मानिसहरूलाई ज्यानै जोखिममा पार्ने अवस्था सिर्जना गरिरहेको छ ।
यसअघि पनि बाजुरामा यस्तै खालका घटनाहरू दोहोरिएका छन्। केही वर्षअघि देवी–देवताको धामी बनेका दुई जना कर्णाली नदीमा बेपत्ता भएका थिए, जसले गर्दा यस क्षेत्रका सामाजिक प्रथा र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

धार्मिक आस्था र परम्पराको सम्मान गर्नुपर्छ, तर त्यसको नाममा मानव जीवन जोखिममा पार्ने कार्यलाई समयमै समीक्षा र सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ। शिक्षाको पहुँच, जनचेतनाको अभाव र सामाजिक दबाबका कारण यस्ता घटनाहरू अझै पनि ग्रामीण समुदायहरूमा देखिइरहेका छन् ।

सामाजिक रूपान्तरणको खाँचो
वर्तमान घटनाले देखाएको छ—समाजमा अन्धविश्वासले मानिसको सोच र निर्णयमा कस्तो प्रभाव पार्न सक्छ। यो केवल व्यक्तिगत घटना नभएर सामाजिक चेतनाको कमीले निम्त्याएको दुखद परिणाम हो। स्थानीय सरकार, सामाजिक अभियन्ता र जनसञ्चार माध्यमहरूले यस्ता परम्परागत अन्धविश्वासविरुद्ध जनचेतना फैलाउन सक्ने अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।

धार्मिक विश्वास र जीवन रक्षा दुवै महत्वपूर्ण छन्। तर, परम्पराको नाममा यदि जीवन जोखिममा पर्ने अवस्था आउँछ भने त्यस्ता अभ्यासहरूलाई प्रश्न गर्न र सच्याउन नहिचकिचाउनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्