समाज

“एकल आमाको छायाँ“

१४ बैशाख २०८२, आईतवार १०:००

सन्तोषी रावल । जन्मेको छ भने मृत्यु अटल सत्य हो ।
तर कहिलेकाहीं मृत्यु यति कठोर भएर आउँछ कि, बाँकी बाँच्नेलाई जिन्दगी नै भारी लाग्छ ।
मेरो घरमा पनि यस्तै भयो — जहाँ एकै चोटि मायाको दुई खम्बा ढल्यो र हामी सबै एक्लिएका सन्तानझैं तिरमिरियौं।

हाम्रो परिवार विशेष थियो ।
एउटै घरमा दिदी र बहिनी — दुबै जना एउटै पुरुषसँग विवाह बन्धनमा बाँधिएका थिए ।
समाजमा धेरैले आलोचना गर्थे, शंका गर्थे, भन्थे — “दुई श्रीमती भएको घरमा कहिल्यै सुख रहँदैन ।“
तर हाम्रो परिवारमा त्यो भनाइलाई गलत साबित गर्ने जिवन्त उदाहरण देखिन्थ्यो ।
दुबै आमा बराबरी माया, सम्मान र सद्भावमा बाँधिएका थिए। हामी सन्तान पनि बिना भेदभाव, एकै काखको माया र संरक्षणमा हुर्किएका थियौं ।
हामीलाई कहिल्यै ’यो जेठी आमा’, ’यो कान्छी आमा’ भन्ने छुट्टै भावनाले छोएन ।
हामीलाई थाहा थियो — हामी दुवै आमाका समान छोराछोरी हौं ।
तर जिन्दगीले अचानक यस्तो मोड लियो, जसले सारा परिवारको आधार नै हल्लाइदियो।
एकदिन, हाम्रो बुवाले हामीलाई सधैंका लागि छोडेर जानुभयो।
त्यो पीडा सहन नपाउँदै, १६ दिन नपुग्दै — हाम्रो जेठी आमाले पनि जीवनको यात्रा टुंग्याइदिइन् ।
हाम्रो लागि त्यो यस्तो थियो, जस्तै कुनै हरियो रुखको जरा नै उखेलिएको होस ्।
हामी अनाथजस्तै भइदियौ ं।
१५ दिनभित्र, जोडी बनेर जिउने कसम खाएका दुई आत्माहरू सधैंका लागि छुट्टिए ।
बुवाको श्राद्धको दिन, आमा पनि अस्ताइन्।
घरभरि रुवाइ मात्र थियो, नून पानी मात्र थियो ।
हाम्रो मुटु चिरेर आयो।
सिर नै काटिएको जस्तो लाग्यो ।
तर त्यस भीषण अन्धकारमा, एउटा छायाँ अझै उभिरहेकी थिइन् — हाम्रो कान्छी आमा ।

कान्छी आमा — जसले आफ्नै पीडालाई गहिरो छातीभित्र थुनिन्, हामीलाई मुस्कानका साथ सम्हाल्न थालिन ्।
सन्तानहरू बाध्यताले सहर पस्न थाले, छोरीहरू विवाह गरेर आफ्नो घर सम्हाल्न लागे ।
हामी एक अर्काबाट टाढा हुँदै गयौं ।
तर हाम्रो घरमा — त्यो ठुलो आँगन, त्यो सुनसान कोठाहरू — बाँचिरहेकी थिइन् ती एउटी एक्लो आमा ।
रात परेपछि कहिलेकाहीं उनी विरामी पर्थिन्, तर पानी दिनेसम्म कोही हुन्थेन ।
ठूला–ठूला चिसा रातहरू, सुनसान दिउँसाहरू — ती पर्खालहरूले, ती झ्यालढोकाहरूले उसको साथ दिएका थिए।
हामी टाढाबाट फोनमा आमालाई सम्झाउँथ्यौ ं।
मुस्कान देखाउँथ्यौं।
तर त्यो मुस्कान झूटी थियो ।
मनमा अथाह पीडा बोकेर, आमालाई नआत्तिने गरी कुरा गथ्र्यौं ।
त्यही आमाले हामीलाई सम्झाइरहन्थिन् — “छोराछोरी सुखी हुनु सबैभन्दा ठूलो सन्तोष हो।“
कहिलेकाहीं आँखा रसाउँथ्यो,
तर आँसुहरूलाई गाला चोपी लुकाउँथ्यौ ं।
किनकि थाहा थियो — हाम्रो आँसु देखेर आमा भित्रभित्रै झन विछिप्त हुनुहुन्छ ।
उनलाई त अहिले हामीभन्दा ठूलो पीडा थियो — सहजीवनका साथीहरूलाई गुमाएको, घरका सन्तानहरू टाढा भएको ।
तर त्यो पीडाको बीचमा पनि, कान्छी आमाले आफ्नो कर्तव्यबाट कहिल्यै पछि हटिनन्।
घर सम्हालिरहिन ्।
परिवारको आस्थाको खम्बा बनिरहिन्।
बुवा र जेठी आमाको अनुपस्थितिलाई पूरै महसुस हुन नदिई, आफ्नो ममताको पर्दाले हामीलाई जोगाइरहिन्।

आज पनि, जब आमाको मुख हेर्ने दिन आउँछ,
मन पोल्छ ।
भन्ने शब्दहरू रित्तिन्छन् ।
तर हृदयले भन्छ —
“आमा, तपाईं हुनुहुन्छ भने हामी संसारको जुनसुकै पीडा पनि जित्न सक्छौं।
तपाईं हाम्रो साहस हुनुहुन्छ, तपाईं हाम्रो आशिर्वाद हुनुहुन्छ।
हामी तपाईंलाई काखमा राख्न नसके पनि, तपाईंलाई आत्मामा सजाएर बाँचिरहेका छौं ।“

प्रतिक्रिया दिनुहोस्