राजनीनिती

समृद्धिको साझा एजेन्डा निर्माणतर्फ बुढीगंगाको कदम ः ‘कचहरी’ कार्यक्रमको दोस्रो दिनसम्म ११ क्षेत्रको बहस

२८ बैशाख २०८२, आईतवार २०:२२

सन्तोषी रावल
बाजुरा, वैशाख २८ – परम्परागत छलफल संस्कृतिलाई आधुनिक योजनामा रूपान्तरण गर्ने प्रयासस्वरूप बुढीगंगा नगरपालिकाले सुरु गरेको ‘कचहरी’ कार्यक्रम आज दोस्रो दिनमा प्रवेश गरेको छ। स्थानीय तहको समृद्धिको साझा मार्गचित्र निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए ।

कार्यक्रमको मूल लक्ष्य बुढीगंगाको २० वर्षे दीर्घकालीन विकास योजना तयार पार्दै त्यसलाई राजनीतिक सहकार्यमार्फत कार्यान्वयन गर्नुपर्ने अवधारणालाई स्थापित गर्नु हो। नगरप्रमुख रामबहादुर बानियाँले भने, “हामी केवल आगामी बजेट मात्र होइन, दीर्घकालीन रूपान्तरणको खाका बनाउँदैछौ ं।”

कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, सुशासन, विपद् व्यवस्थापन लगायत ११ प्रमुख क्षेत्रका विषयमा अवधारणापत्र प्रस्तुत गरी व्यापक छलफल भइरहेको छ। सहभागीहरूमा राजनीतिक दल, नागरिक समाज, विज्ञ, कर्मचारी, युवाहरू र महिलाहरूको उत्साहजनक उपस्थिति देखिएको छ ।

नगर उपप्रमुख माया कुवँर खड्काले भने, “निर्वाचनका बेला मात्रै राजनीतिक दलहरूबीच देखिने टकरावलाई यस कचहरीले सहकार्य र दीर्घकालीन सोचमा परिणत गर्ने सम्भावना बोकेको छ ।”

तीन दिनसम्म चल्ने यो कार्यक्रममा संकलित सुझाव, सल्लाह र बहसलाई अन्तिम दिन ‘साझा घोषणापत्र’को रूपमा सार्वजनिक गरिने जानकारी प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीले दिए
स्थानीय राजनीतिक विवादभन्दा पर गएर समावेशी सहभागितामार्फत साझा दृष्टिकोण निर्माण गर्ने यो प्रयासले बुढीगंगालाई दीर्घकालीन योजनाको नयाँ मोडतर्फ डोर्याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्