Flash News

समाजवादीले पहिलो चरणमा भुसाललाई मन्त्री बनाउने

१५ चैत्र २०७९, बुधबार १२:४७

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा‍‍.बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ ।

बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो । भुसाल राष्ट्रियसभा सदस्य हुन् । एकीकृत समाजवादी पार्टीका संस्थापक महासचिव समेत रहेका भुसाल केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए ।

‘पहिलो चरणमा भुसाल सरकारमा जानुहुन्छ । त्यसपछि ज्वाला जानुहुन्छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘तीन मन्त्रालयका लागि अझै छलफल जारी नै छ । यदि तीन वटा मन्त्रालय पाउने अवस्था आए भानुभक्त जोशीलाई पनि पठाउने भन्ने भएको छ ।’

बुधवार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म पार्टीबाट मन्त्री हुने एक जनाको नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादीले बुधवार आकस्मिक बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्