काठमाडौ- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलाई मुगुका राजनीतिक दलहरुले जिल्लाको विकासका लागि विभिन्न योजना सहितको संयुक्त अनुरोध पत्र बुझाएका छन् ।
पार्टी स्कूल विभागका प्रमुख समेत रहनु भएका ज्ञवाली प्रशिक्षणका क्रममा मुगु पुगेको बेला स्थानीय राजनीतिक दलहरुले जिल्लाको विकासमा रणनीतिक महत्व राख्ने चारवटा सडक निर्माणका लागि बजेट विनियोजनको पहल गरिदिन माग गरेका हुन् ।
मुगुका राजनीतिक दलहरुले ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा गमगढी नाक्चेलाग्ना सडक निर्माण र चीनतर्फको नाका खोल्नका लागि पहल गरिदिन अनुरोध गरिएको छ । यसैगरी मुगुको पर्यटन विकासको आधारको रुपमा रारा तादको संरक्षण र प्रवद्र्धनका लागि रारा पर्यटन विकास प्राधिकरण गठनको पहल लिइदिन पनि अनुरोध गरिएको छ । यसैगरी रामगढी भुलभुले सडक खण्ड कालोपत्रे गर्न बजेट विनियोजनको पहल लिइदिन र जुम्लामा रहेका संघीय सरकार अन्तरगतका कार्यलय मुगुमा सारिदिन पनि उनीह्रुले माग गरेका छन् ।
मुगुका राजनीतिक दलका तर्फबाट नेकपा एमालेका अध्यक्ष पूर्णबहादुर रोकाया,नेपाली काँग्रेसका सभापति कर्णबहादुर रावल,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सन्तोष कुमार मल्ल,राप्रपाका अध्यक्ष राजबहादुर मल्लले नेकपा (एस)का उपाध्यक्ष विरेन्द्र बहादुर मल्लले ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
ज्ञापन पत्र बुझेपछि ज्ञवालीले आफू कर्णालीको विकासका लागि सधैं सकारात्मक रहेको बताउनुभएको छ । मुगुवासीहरुले उठाएका विकास निर्माणका सवालहरु प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु समक्ष पुर्याउने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । सो अवसरमा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवं स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य काशीनथ अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
source : yobela.com